जुम्लामा भदौ ७ देखि दोस्रो कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने

जुम्लामा दोस्रो बृहत् कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०८३ आयोजना हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति जुम्लाको आयोजनामा हुने महोत्सव भदौ ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ।
जिल्लाको कृषि उत्पादन, पर्यटन सम्भावना, स्थानीय व्यापार र कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ। यसअघि सम्पन्न महोत्सवका अनुभवलाई आधार मानेर यस वर्ष कार्यक्रमलाई अझ व्यवस्थित, प्रभावकारी र दर्शकमैत्री बनाइने प्रतिष्ठानका अध्यक्ष विश्वराज खत्रीले बताए।
प्रतिष्ठानका निवर्तमान अध्यक्ष कर्ण बुढथापाका अनुसार अघिल्लो महोत्सवमा देखिएका कमजोरीलाई सुधार गर्दै प्रचार सामग्रीमा समावेश गरिएका सबै कलाकारलाई यसपटक मञ्चमा उपस्थित गराइनेछ। महोत्सव सञ्चालनमा समन्वय र व्यवस्थापनलाई पनि विशेष प्राथमिकता दिइएको उनले बताए।
प्रतिष्ठानका अध्यक्ष विश्वराज खत्रीले महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकारसँगै स्थानीय कलाकारको समेत उल्लेखनीय प्रस्तुति रहने जानकारी दिए। उनका अनुसार महोत्सवले स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।
आयोजकका अनुसार महोत्सवको प्रवेश शुल्क प्रतिव्यक्ति रु. १०० देखि १५० सम्म निर्धारण गरिनेछ।

प्रकाशित मितिः   २०८३ साउन ८ at 5:05 pm 

  • कमेन्ट (Comment)