आगलागी पीडितलाई निजामती कर्मचारी युनियन जुम्लाद्वारा नगद राहत ७५ हजार प्रदान

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिका–०४ मालाभिडमा गत बिहीवार साँझ भएको भीषण आगलागी पीडितलाई नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति जुम्लाले राहत स्वरूप नगद सहयोग प्रदान गरेको छ।

शिवलक्ष्मी न्यौपानेको घरमा बिधुतको तर सट भई आगलागी हुँदा ठूलो क्षति भएको थियो। उक्त आगलागी साँझ करिब ६ बजेतिर भएको हो। आगलागीले घर पूर्णरूपमा नष्ट भएको र पीडित परिवार घरवारविहीन बनेको अवस्थामा कर्मचारी युनियनले सहयोग हात अगाडि बढाएको हो।

पीडित न्यौपानेलाई राहतस्वरूप रु ७५ हजार नगद रकम हस्तान्तरण गरिएको छ। उक्त रकम नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर खड्काले एक कार्यक्रमका बीच पीडितको हातमा प्रदान गरेका हुन्।

सो कार्यक्रममा जिल्ला कार्य समिति जुम्लाका अध्यक्ष मिमराज खत्री लगायत युनियनका पदाधिकारीहरूको उपस्थिति थियो।

कार्यक्रमका क्रममा अध्यक्ष खत्रीले आगलागीबाट पीडित भएकी न्यौपानेप्रति सहानुभूति  व्यक्त गर्दै उक्त सहयोगले तत्कालीन आवश्यकतालाई केही हदसम्म राहत दिन सक्ने विश्वास व्यक्त गरे। उनले भने, “यति पैसाले सिंगो घर त बन्छैन, तर यो पीडितका लागि संकटको समयमा मलम पट्टीजस्तै हुनेछ। निजामती कर्मचारी युनियनले आगामी दिनमा पनि यस्ता राहत तथा सहयोग कार्यलाई निरन्तरता दिँदै जानेछ।”

कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष चन्द्रबहादुर खड्काले सामाजिक उत्तरदायित्व अन्तर्गत युनियनले यस्ता कार्यलाई विशेष प्राथमिकतामा राख्ने बताए। “हामी कर्मचारीको हकहितका लागि मात्र होइन, समुदायमा संकट पर्दा साथ दिने संस्था पनि हौं,” उनले भने, “यस्ता दुःखका समयमा हातेमालो गर्नु हाम्रो दायित्व हो।”

राहत पाएपछि पीडित शिवलक्ष्मी न्यौपानेले सहयोगका लागि युनियनप्रति आभार प्रकट गरेकी छिन्। “आगोले मेरो सम्पत्ति लियो, तर यो सहयोगले घाउमा मलम पट्टी जस्तो भयो,” उनले भनिन्, “संकटमा साथ दिने हातहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।”

सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै नेपाल निजामती कर्मचारी युनियन जुम्लाले संकटग्रस्त अवस्थामा रहेका नागरिकलाई यथासम्भव सहयोग पुर्‍याउने कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

यस घटनाले विपद् व्यवस्थापनमा सरकारी कर्मचारीहरूको भूमिका कस्तो हुन सक्छ भन्ने उदाहरण पनि प्रस्तुत गरेको छ। युनियनले देखाएको अग्रसरताले अन्य संघसंस्थालाई पनि यस्तै सामाजिक कार्यमा प्रेरित गर्ने विश्वास लिइएको छ।

प्रकाशित मितिः   २०८१ चैत्र २५ at 9:28 pm 

  • कमेन्ट (Comment)