कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी, प्राध्यापक र स्वास्थ्यकर्मीहरुले भारतको कलकत्ता स्थित राधागोविन्द कर मेडिकल कलेजकी प्रशिक्षार्थी डाक्टर मौमीता देबनाथको सामुहिक बलात्कार पछिको बीभत्स हत्याको विरोधमा प्रदर्शन गरेका छन्।
आइतबार साँझ प्रतिष्ठान प्राङ्गणमामा क्यान्डल बालेर न्यायका लागि विरोध प्रदर्शन गरेका हुन। प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको उपस्थितिमा विद्यार्थीहरु, प्राध्यापक तथा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका हुन।
अगस्त ८ मा प्रशिक्षार्थी डाक्टर देबनाथको अर्धनग्न शव फेला परेको थियो। प्रहरीका अनुसार उनको बलात्कारपछि हत्या गरिएको हो।
उक्त घटनालाई लिएर भारत लगायत विश्वका रेजिडेन्ट डाक्टरहरू हडतालमा उत्रिएका छन्। एम्स दिल्लीसहित देशभरका सबै सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित भएका छन्। यद्यपि, इमर्जेन्सी सेवा भने सुचारु छन्।
यसैबीच मुख्यमन्त्री ममता बेनर्जी दिवङ्गत प्रशिक्षार्थी डाक्टरको घरमा पुगेकी थिइन्। उनले १८ अगस्तसम्म प्रहरीले हत्यारा पत्ता लगाउन नसके यस केसलाई सीबीआईलाई हस्तान्तरण गरिने जानकारी दिइन्। तथापि सबै हत्यारा पत्ता लागिसकेका भने छैनन्।
दोसीलाई कारबाही र पीडितले न्याय पाउनुपर्छ भन्ने मागमा ऐक्यबद्धता जनाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिप प्रज्वलन गरिएको उपकुलपति रावलले बताए।
महेश नेपाली । २०८१ भाद्र २