जलवायु दिगो विकासमा नेपालको प्रमुख प्राथमिकता: वन मन्त्री शाही

अजरबैजानको बाकु शहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९) मा सहभागी वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु दिगो विकासलाई नेपालको प्रमुख प्राथमिकता रहेको बताएका छन्।

शुक्रबार ‘वर्ल्ड ग्रिन इकोनोमी अर्गनाइजेसन’ (डब्ल्युजीइओ)का अध्यक्ष सईद मोहम्मद अल ताएरसँग भएको भेटमा मन्त्री शाहीले नेपाल जलवायु जोखिम उच्च भएका राष्ट्रमध्ये एक भएको उल्लेख गर्दै दिगो विकासका लागि संयुक्त प्रयास आवश्यक रहेको बताए। मन्त्री शाहीको सचिवालयका अनुसार उनले नवीकरणीय ऊर्जा, दिगो कृषि र जलवायु वित्तका क्षेत्रमा संयुक्त अरब इमिरेट्स र डब्ल्युजीइओसँग सहकार्यका सम्भावनाहरू अन्वेषण गर्ने प्रस्ताव राखेका थिए।

मन्त्री शाहीले जलवायु वित्तका लागि प्राविधिक तथा आर्थिक सहयोग, ज्ञान र सीप आदानप्रदान, हरित वित्तका उपकरणहरूको हस्तान्तरण, र क्षमता अभिवृद्धिलगायतका गतिविधिहरूमा नेपालले सहयोग र साझेदारीको अपेक्षा गरेको बताए।

उनका अनुसार नेपालले अन्तर्राष्ट्रिय प्रक्रियाहरू पालना गर्दै सामूहिक प्रयासमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ। साथै, नेपालले जलवायु परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न र हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्न आगामी दिनमा ठोस पहल गर्ने स्पष्ट पारे।

मन्त्री शाहीले यस सहकार्यले नेपाललाई जलवायु परिवर्तनको असरबाट जोगाउन र हरित अर्थतन्त्रको विकासमा महत्वपूर्ण उपलब्धि दिलाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मितिः   २०८१ मङ्सिर १ at 8:54 pm 

  • कमेन्ट (Comment)