जुम्ला सदरमुकाम स्थित जे.आर.कर्णाली बोर्डिङ स्कुलमा दिक्षान्त समारोह सम्पन्न भएको छ। शुक्रबार सम्पन्न दीक्षान्त समारोहबाट विद्यालयले विद्यार्थीहरुलाई दीक्षित गरेको हो।
जे.आर.कर्णाली बोर्डिङ स्कुलमा युकेजीबाट कक्षा १ मा गएका ९० जना विद्यार्थीहरुलाई दीक्षित गरिएको विद्यालयका प्रधानाध्यापक फुर्वा शेर्पाले बताए।
उनले भने, ‘जुम्लामा पहिलो पटक हाम्रो विद्यालयले दिक्षान्त समारोह आयोजना गरेको हो। यो हाम्रा अभिभावकहरुले गर्दा सम्भव भएको हो।’
जिल्लाको शिक्षा क्षेत्रमा नौलो अभ्यास गरिएको प्रमुख अतिथिको रुपमा उपस्थित चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले बताइन्। उनले भनिन्, ‘यो सम्मानजनक अभ्यास सबैले रिस, डाहा नमानी अवलम्बन गर्नुपर्दछ।’
योग्यताको सहि मूल्यांकन गरेर गरिने दिक्षान्त समारोह विशेष रहेको चन्दननाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईंले बताए।
उनले भने, ‘सरकारको नीतिलाई चुनौती दिदै जे.आर. कर्णाली बोर्डिङले नमुना कार्यक्रम गरेको छ। म एकदमै खुसी छु।’
उनका अनुसार सरकारले शिक्षामा धेरै लगानी गर्छ त्यसको प्रतिफल सोचे जस्तो आउँदैन। अबका दिनमा परिणाममुखी काम गर्नुपर्छ।
विक्रम तिरुवा 'सलिन' । २०८१ जेष्ठ २५