कांग्रेस जुम्लामा पत्र विवाद : सभापति र कार्यवाहक उपसभापतिको फरक–फरक दाबी

नेपाली कांग्रेस जुम्लामा केन्द्रीय सभापति शेरबहादुर देउवालाई लेखिएको ध्यानाकर्षण पत्रलाई लिएर जिल्लाभित्रै विवाद उत्पन्न भएको छ। जिल्ला कार्यसमिति सभापति कर्ण बहादुर शाहीले उक्त पत्रलाई आधिकारिक नभएको स्पष्ट पार्दै विज्ञप्ति जारी गरेका छन् भने कार्यवाहक सभापतिको जिम्मेवारी बहन गरेको दाबी गर्ने उपसभापति कार्मा बुढाले भने पत्र आधिकारिक भएको अडान लिएका छन्।

कांग्रेस जुम्लाको आधिकारिक लेटरप्याड प्रयोग गरी असोज २ गते देउवालाई पठाइएको पत्रमा तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने, एक व्यक्ति एक पदको सिद्धान्त कार्यान्वयन गर्नुपर्ने, दुई कार्यकालभन्दा बढी पदाधिकारीलाई पुनः उम्मेदवार बन्न नदिने व्यवस्थासहित नेताहरूको सम्पत्तिमाथि आन्तरिक छानबिन समिति गठन गर्नुपर्ने जस्ता मागहरू राखिएका थिए। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसलाई जिम्मेवारपूर्वक सहभागी गराउन नेतृत्व तहमै परिवर्तन आवश्यक रहेको भन्दै पत्रमा नयाँ नेतृत्व चयनका लागि दबाब सिर्जना गरिएको थियो।

पत्रमा उपसभापति कार्मा बुढा, जिल्ला सदस्य लगायत आठजनाले हस्ताक्षर गरेका थिए। उनीहरूले पार्टी कमजोर बन्दै गएको, आन्तरिक गुटबन्दी र पदपिच्छे चलखेलका कारण कार्यकर्ता उत्साहहीन बनेको भन्दै तत्काल नेतृत्व परिवर्तनमार्फत संगठनलाई सबल बनाउनुपर्ने तर्क गरेका छन्।

तर, जिल्ला सभापति कर्ण बहादुर शाहीले बिहीबार विज्ञप्ति जारी गरी पत्रलाई कांग्रेस जुम्लाको संस्थागत धारणा नभएको प्रष्ट पारेका छन्। “नेपाली कांग्रेस जिल्ला कार्यसमिति जुम्लाको आधिकारिक धारणा नभई केही साथीहरूको निजी विचार मात्रै भएकोले उक्त पत्रलाई पार्टीको धारणा ठान्न नहुने” विज्ञप्तिमा उल्लेख छ। उनले पार्टीभित्र यस्ता कदमले संगठनमा अझै द्वन्द्व बढाउने चेतावनी पनि दिएका छन्।

यसै बिषयमा बुझ्दा उपसभापति कार्मा बुढाले भने फरक मत व्यक्त गरेका छन्। उनका अनुसार सभापति शाही र अर्का उपसभापति दिपक शाही दुबै जिल्ला बाहिर रहेका बेला आफू कार्यवाहक सभापतिको भूमिकामा रहेकाले पत्र जिल्ला कार्यसमितिको आधिकारिक निर्णयकै आधारमा पठाइएको हो। मात्र व्यक्तिगत धारणा भनेर पन्छिन मिल्दैन, यो जिल्ला कार्यसमितिको सामूहिक आवाज हो, बुढाले भने।

कांग्रेस जुम्लाभित्र देखिएको यो मतभेदले स्थानीय तहसम्म संगठनमा तरंग ल्याएको छ। एकातिर सभापति शाहीले पत्रलाई अवैधानिक भनेका छन् भने अर्कोतिर कार्यवाहक सभापतिको दाबी गर्दै बुढाले पत्रलाई वैधानिक ठहर गरिरहेका छन्। यसले जुम्लामा कांग्रेसभित्र आन्तरिक विभाजन चर्किँदै गएको संकेत दिएको छ।

यसरी हेर्दा, कांग्रेस जुम्लामा देखिएको पत्र विवाद केवल वैधानिकताको प्रश्न मात्रै नभई नेतृत्वप्रतिको असन्तोष र संगठनभित्रको आन्तरिक खटपटको प्रतिफल पनि हो तर अहिले जेनजी आन्दोलन पछि देशमा आएको राजनिति परिवर्तनले नेतृत्व सच्चिन जरुरीत छ तर सभापति देउवा उपचारक अवश्थामा हुदा अहिले नै नेतृत्व फेरिनु पर्छ भन्ने माग पनि समय अनुसार नभएको एक थरि भनाई रहेको छ ।

प्रकाशित मितिः   २०८२ असोज ४ at 10:02 am 

  • कमेन्ट (Comment)