काठमाडौँ : नेपाली काँग्रेसका शेरबहादुर देउवा गुटका नेताहरू निर्वाचन आयोगको निर्णयविरुद्ध आइतवार सर्वोच्च अदालत जाने भएका छन्।निर्वाचन आयोगले नेपाली काँग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचिन गगन थापाको समूहलाई दिएपछि देउवा पक्षधर नेताहरू सर्वोच्च जाने भएका हुन्।
शनिवार देउवा पक्षका नेताहरूको पार्टी केन्द्रीय कार्यलयमा बसेको बैठकले आयोगले गरेको निर्णयविरुद्ध संवैधानिक एवं कानूनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको नेता डा.प्रकाशशरण महतले जानकारी दिए।उनले आयोगको निर्णयविरुद्ध आइतवार सर्वोच्च अदालतमा रिट निवेदन दिने बताए।
उनले आयोगले आफूहरूको कुरा समेत नसुनीकन एकपक्षीय ढंगले निर्णय गरेको आरोप लगाए। विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत आयोगले नहेरीकन दूषित मनसायले आयोगले निर्णय गरेको उनको दाबी छ।
काँग्रेसलाई क्षति पुर्याउने गरी आयोगले निर्णय आफूहरूलाई अमान्य भएको उनले बताए।उनले कांग्रेसको विधान र निर्वाचनसम्बन्धी कानूनलाई पनि ख्याल नगरेर आयोगले अन्यायपूर्ण दूषित मनशायबाट निर्णय गरेको उल्लेख गरे।
यसको विरुद्ध अदालत जाने र अदातलले आफूहरुलाई न्याय गर्ने उनले विश्वास व्यक्त गरे।उनले भने, ‘तथाकथित विशेष महाधिशेनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटी रूपले गरिएको निर्णय दूषित मनशायले प्ररित रहेको यो बैठक ठहर गर्दछ।
यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो। निर्वाचन आयोगको दुराशयपूर्ण निर्णयको कडा विरोध गर्दै यो बैठक उक्त निर्णयविरुद्ध संवैधानिक एवं कानूनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ। भोलि हामी यसको विरुद्धमा सर्वोच्च अदालतमा जान्छौँ।’
उनले नेपाली काँग्रेसको वैधानिकता १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र आफूहरूसँगै रहेको पनि दाबी गरे। आयोगको निर्णयलाई अदालतले सच्याउने उनको दाबी छ।










कनका खबर । २०८२ माघ ३