जुम्ली स्याउले छायो स्याङ्जाका घरआँगन: घरदैलोमै अर्गानिक स्वाद पाएपछि उपभोक्ता खुसी

बजारमा पाइने महँगा र विषादीयुक्त विदेशी स्याउलाई उछिन्दै अहिले जुम्लाको अर्गानिक स्याउ स्याङ्जाका उपभोक्ताको पहिलो रोजाइ बन्न थालेको छ । जुम्लाको उत्पादनलाई टोलटोलमै पुर्‍याएर बिक्री गर्न थालिएसँगै यहाँका बासिन्दाले सहज रूपमा सस्तो र गुणस्तरीय स्याउ उपभोग गर्न पाएका छन् ।

​व्यावसायी गौरीलाल सञ्ज्याल नेतृत्वको टोलीले जुम्लाबाट ट्रकमार्फत पोखरा स्याउ ल्याई, त्यहाँबाट जिपमार्फत स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत र पाल्पाका विभिन्न गाउँ तथा टोलमा घरदैलो अभियान नै सञ्चालन गरेर स्याउ बिक्री गरिरहेको छ ।

​‘घरदैलोमै जुम्ली स्वाद’

पहिले जुम्लामा उत्पादित स्याउ उचित बजार र बजारीकरणको अभावमा बोटमै कुहिएर जाने समस्या थियो। यही समस्यालाई चिर्दै र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले व्यवसायीले टोलटोलमै स्याउ पुर्‍याउने शैली अपनाएका हुन् । उपभोक्ताले प्रतिकेजी १५० रुपैयाँमा रोजेरै स्याउ किन्न पाउने भएपछि अहिले दैनिक सयौँ पेटी स्याउ बिक्री हुने गरेको छ ।

​एकपटक जुम्ली स्याउ किनेर खाएका उपभोक्ताहरूले फोन गरेरै थप माग गर्ने गरेकाले यसको बजार विस्तार हुँदै गएको व्यवसायी सञ्ज्याल बताउँछन् । यस प्रकारको घुम्ती व्यापारले एकातर्फ उपभोक्तालाई सस्तो मूल्यमा अर्गानिक फलफूल उपलब्ध गराएको छ भने अर्कातर्फ किसान र व्यवसायीलाई पनि प्रत्यक्ष आम्दानीको स्रोत जुराएको छ ।

प्रकाशित मितिः   २०८३ कार्तिक १४ at 9:17 am 

  • कमेन्ट (Comment)