डाेल्पाको सिमाना र जुम्लाको सिरानमा पर्ने गुठीचौर गाउँपालिका-१ चाेत्रमा अवस्थित हिमाली रम्बा आधारभूत आवासीय विद्यालयमा नेपाल विद्यार्थी संघका केन्द्रीय केन्द्रीय प्रवक्ता सुरज सेजुवालको पहलमा शैक्षिक सामग्री र खाद्यान्न वितरण गरिएको छ।
स्थापनाको ४८ वर्षपछि स्कुलले नयाँ गति लिँदैछ। जहाँको शैक्षिक स्तर उकास्न सेजुवालको पहलमा सहयोग जुटेको हो। जुटेको सहयोगमा फुटबल, भलिबल, चेसबोर्ट, स्पोर्ट्सका सामग्री र खाद्यान्न छ।
हिमालको काखैमा चिसाे सिरेटाेसँगै साउती मार्दै बसेका चाेत्रबासीहरुमध्ये पहिलो पुस्ताका मान्छेहरु औपचारिक शिक्षाको पहुँचमा पुगेका छैनन्। तर उनीहरुको चेत उहिल्यै खुलेको हाे। चेत खेलेसँगै स्कुल पनि खुलेको हाे। तर पढाउने मास्टर आफ्ना नहुँदा स्कुलले गति लिन सकेन। अहिले ५० कटेकाे पुस्ता पनि पढेलेखेको छैन।
स्थानीय जडीबुटी र व्यावसायिक चौँरी पालनबाट जीवन धानिरहेका उनीहरुमा ज्ञान आर्जनमा पुर्खाको प्यास मेटाउने प्रयत्न थियो नै। त्यसैले गाउँमा गतिला मास्टर नहुँदा नि बजार वा बाहिर जिल्लामा समेत आफ्ना लालाबालालाई शिक्षित बनाउने साेच पलायो। त्यसैले नयाँ पुस्ताका अधिकांश चाेत्रबासीले औपचारिक शिक्षा लिएका छन्।
साधारण र प्राविधिक दुबै खालको शिक्षा आर्जन गरिरहेका चाेत्रबासीको विद्यालय शिक्षाको जग भने गाउँ थिएन। तथापि गाउँमा स्कुल थियो। लामो समय दुई/चार जनामात्रै विद्यार्थी पाउने हिमाली रम्बा आधारभूत आवासीय विद्यालय यतिबेला भने गुल्जार छ। त्यहाँ अहिले छात्रबासका बसेर अध्ययन गर्ने विद्यार्थीको संख्या ४२ जना पुगेको छ।
यो सुनेर निकै उत्साहित बनेका नेविसंघ प्रवक्ता सेजुवाल शैक्षिक सामग्री र खाद्यान्नको पोको लिएर गाउँमा पुगेका हुन।
‘यहाँको वडा सरकारले सामुदायिक शिक्षालाई प्रभावकारी बनाउने गतिलो कदम चाल्नु हो,’ उनले उत्साहित हुँदै भने, ‘छात्रबाससहितको स्कुल बनाउने गरी कार्यविधि बनाइ त्यसको सफल कार्यान्वयन गराउनु हो। त्यसैले यस्तो स्कुलका लागि सहयोग जुटाउने मन भएको हो।’
स्कुल सुधार बनाउने काम गुठीचौर गाउँपालिका-१ को वडाध्यक्षमा अर्जुनकुमार महतारा निर्वाचित भएपछि भयाे। उनी सामुदायिक विद्यालयको स्तरउन्नती गर्नतिर लागे।
‘बर्सेनि बच्चाहरुको पढाइका निम्ति भनेर लाखौँ रुपैयाँ खर्च भइरहेको छ। त्यो सबै रुपैयाँ बाहिर जिल्लामा गइरहेको छ,’ वडाध्यक्ष महताराले भने, ‘यो खर्च बचाउन सकिएको खण्डमा हाम्रा जनताको जीवनस्तर सुधारिनेछ। सुविस्ताले थप आयआर्जनका काम गरेर समृद्धि हासिल गर्न सकिन्छ। नत्र कमाइजति सबै बच्चाबच्चीको पढाइमै सकिन्छ।’
गाउँकाे स्कुललाई सबै अभिभावकले यति चाँडै पत्याइदिएका छैनन्। त्यसैले वडाध्यक्ष महताराले यसलाई आवासीय विद्यालय बनाउने सोचे। उनको साेचअनुसार छात्रबास तयार भयो। गाउँकै एउटा घर भाडामा लिए। त्यसका निम्ति वडाबाट बजेट छुट्याए। त्यसअघि आवासीय विद्यालयको कार्यविधि तयार भइसकेको थियो।
तयार भएकाे छात्रबासमा राख्ने विद्यार्थी खोज्ने अभियान सुरु भयो। अभियानको क्रममा गुठीचाैर गाउँपालिकाका सबै वडामा सूचना गरियो। विपन्न, अभिभावकविहीन, अपाङ्गता भएका केटाकेटी खोजिए। त्यसरी खाेजिएका केटाकेटीको संख्या ४२ जना भएपछि स्कुल गुल्जार छ।
स्कुल गुल्जार भएपनि शैक्षिक सामग्री र खाद्यान्न संकट भने भोग्नु नपरोस भनेर वडा अध्यक्ष महतारा हात फैलाउने काममा लागिरहन्छन्। उनले पवित्र दिलले सहयोग माग्दा आफू प्रभावित भएको प्रवक्ता सेजुवालको भनाई छ।
‘बन्द हुने स्थितिमा पुगेको स्कुललाई हराभरा बनाउनु चानचुने कुरा होइन। धेरैजसो ठाउँमा सिमानाका नागरिकहरुले सुविधा पाएका हुँदैनन्,’ उनले भने, ‘हाम्राे स्थिति पनि त्यही थियो। तर अहिले यहीँबाट उत्कृष्ट र नमुनायोग्य शिक्षाको जग बसालिएको छ।’
पछिल्लो समय स्कुललाई न्यानाे कपडा, नाचगानको बेला कपडा उपलब्ध गराउनेको संख्या बढ्दो छ। अब चाँडै नै आफ्नै छात्रबास बनाउने तयारी रहेकाे वडाध्यक्ष महताराले बताए।
महेश नेपाली । २०८१ जेष्ठ २८