माछापुच्छ्रे बैंक जुम्ला शाखाले पातरासी गाउँपालिका -२ छुमचौरको श्री आधारभूत विद्यालय छुमचौरलाई चार लाख बढीको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पातरासीको आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको हो।
प्रतिनिधि सभा सदस्य विनिता कठायतले माछापुच्छ्रे बैंकको केन्द्रसँग अनुरोध गरि पहल गरेपछि विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको बैंकको जुम्ला शाखा प्रबन्धक मदन मोहन रिमालले बताए।
विद्यार्थीका लागि शैक्षिक सामग्री, कक्षा कोटा व्यवस्थापनका सामग्री र फर्निचर गरि चार लाख बराबरको सामग्री खरिद गरि वितरण गरिएको हो। उनले भने, ‘अहिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेट प्रदेशले खर्च गर्न पाउने कानुनी प्रावधान छ। यस अन्तर्गत कर्णालीको सबैभन्दा बढी बजेट जुम्लामा लगानी भएको छ।’
यस अघि पनि विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आएको बैंकले दुर्गम क्षेत्रका विद्यार्थीको शैक्षिक अवस्था सधारका लागि काम गर्नु अत्यन्तै खुसीको कुरा भएको सांसद विनिता कठायतले बताइन्।
‘यो हाम्रो लागि खुसीको कुरा हो। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग गर्दा विकट क्षेत्रको शैक्षिक सुधारका लागि राम्रो काम हुनेछ,’ उनले भनिन्, ‘यसका लागि हामी माछापुच्छ्रे बैंकको केन्द्रदेखि जिल्ला सबै ठाउँको टिमलाई धेरैधेरै धन्यवाद दिन चाहन्छौं।’
शैक्षिक सामग्रीले विद्यार्थीको पढाइ सुधारका लागि काम गर्ने हुनाले बैंकको सहयोग सह्रानीय मानिने जुम्ला बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष महेश हमालले बताए।
‘बैंकको सहयोगबाट कक्षाकोठाको वातावरण साह्रै आकर्षक र राम्रो बनेको छ,’ उनले भने, ‘अब पढाइ पनि राम्रो हुने विश्वास लिएको छु।’
कक्षाकोठाको वातावरण राम्रो भएपछि सिकाइ उपलब्धिमा उल्लेख्य सुधार हुनेमा विश्वास बढेको श्री आधारभूत विद्यालय छुमचौरका प्रधानाध्यापक परिमल बोहराले बताए।
‘आज कक्षा कोठाको रुप फेरिसकेको छ। यस्तो कोठामा विद्यार्थी रमाएर पढ्नेछन्,’ उनले भने, ‘अब हामी नतिजा दिने कोसिस गर्नेछौं। यो शैक्षिकसत्रमा हाम्रा विद्यार्थीको सिकाई उपलब्धि र नतिजामा सुधार गराउन यो सहयोगको ठूलो भूमिका हुनेछ।’
उनले सहयोगी माछापुच्छ्रे बैंक, पहलकर्तन सांसद कठायत, सहयोगी भूमिका निभाउने जुम्ला बहुमुखी क्याम्पसका सभापति सबैलाई विद्यालय परिवारको तर्फबाट धन्यवाद दिए।
विश्व प्रकाश । २०८१ जेष्ठ २