सिंजामा स्याउका हजार बिरुवा काटेपछि सर्वत्र आलोचना

सिंजा गाउँपालिका -६ स्थित भाडगाउँको सानीपातल काफलबारी सामुदायिक वनमा लगाइएका एक हजार स्याउका बिरुवा काटियो।

वन फडानी गरेर स्याउ रोपिएको जग्गा वनको स्वामित्वमा ल्याउन वन समिति, डिभिजन वन कार्यालय लगायत स्थानीयले विरुवानै उखेलेर फालेका हुन।

सामुदायिक वनको जग्गा अतिक्रमण गरी रोपिएको भन्दै फल दिई रहेका आठ सयसहित एक हजार स्याउका बिरुवा काटेर फालिएपछि चौतर्फी आलोचना समेत भइरहेको छ।

वनको करिब ५ हेक्टर क्षेत्रफलमा रोपिएका एक हजार बिरुवा मध्य आठ सय बिरुवामा स्याउ फलिरहेको थियो भने दुई सय बिरुवा फल लाग्ने क्रममै रहेका थिए। वनको जग्गामा सिंजा -६ जोडुका ४ जना र सोही वडा भाडगाँउका ६ जना गरी १० जनाले अतिक्रमण गरी स्याउ रोपेका थिए।

कुल १० हेक्टर क्षेत्रफल मध्ये ५ हेक्टरमा स्याउका बिरुवा रोपिएको थियो भने ५ हेक्टर जमिनको घेराबार गरी व्यक्तिगत प्रयोजन गरेका थिए।

अतिक्रमण गरिएको जग्गा २०७१ सालमै फिर्ता ल्याउने प्रयास भएको वन समितिले जनाएको छ। तर प्रतिव्यक्तिले वन समितिलाई १० हजार दिने र जग्गा छोड्ने सहमति भएको थियो। वर्षौँ बित्दा पनि उक्त सहमति कार्यान्वयन नगरी अटेर गरेर अतिक्रमित जग्गा नछोडेपछि पटक पटक मुद्दा समेत परेको जनाइएको छ।

वनको जग्गा वनलेनै स्वामित्वमा लिनु पर्ने, रोपिएको बिरुवा संरक्षण गरी अतिक्रमण गरिएको जग्गा फिर्ता ल्याउनु पर्ने भएता पनि नियमानुसार भन्दै आवेगमा आई स्याउ उत्पादन भइरहेको विरुवानै काटेर फाल्नुलाई किसानले गलत निर्णयका रुपमा लिएका छन्। कानुन कार्यान्वयन सँगै सहमति गरेर हुर्केर फल लागिरहेको बिरुवालाई संरक्षण गर्नतर्फ ध्यान दिनु पर्नेमा वन समितिले जरै देखि उखेलेर फालेको छ।

जुम्लाको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको स्याउ खेतीलाई प्रवर्द्धन गर्नुको साटो विरुवानै काटेर फालेपछि आलोचना समेत भइरहेको छ।

सिंजा गाउँपालिका समृद्ध बनाउँछु भन्ने स्थानिय सरकारले एक हजार स्याउ, आरु ओखरका फलिरहेका बिरुवा काटिदा रहदा कता हेरेको भन्दै हर्ष साहीले सामाजिक संजाल फेसबुक मार्फत प्रश्न गरेका छन्।

उनले भनेका छन्, ‘जसले लगाए पनि सरकारी जग्गामा लगाएका रुख बिरुवाहरु सरकारी हुन। यी बिरुवालाई काट्ने र काट्न लगाउने गोरुहरुलाई र मुख दर्शक भई आँखामा पट्टी बाध्ने स्थानीय सिंजा सरकारका गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, कृषि शाखा प्रमुख, सबै कार्यपालिका सदस्यहरुलाई तत्काल सम्बन्धित निकायले कडा कारबाही गर्नुपर्छ।’

वनको जग्गा अतिक्रमण गरेर बिरुवा रोपिए पनि वनकै स्वामित्वमा राख्ने गरी बिरुवा संरक्षण गर्नुपर्नेमा वन समिति, डिभिजन वन कार्यालयले गरेको उत्पादन दिई रहेको बिरुवा काट्ने कार्य वैज्ञानिक नभएको किसान आलोचना भइरहेको हो।

यता डिभिजन वन कार्यालय जुम्लाका वन अधिकृत खड्कलाल नेपालीले नियमानुसार अतिक्रमण गरिएको वनको जग्गा खाली गरिएको बताएका छन्। उनका अनुसार यो सबै वन कार्यालयले गरेको निर्णय होइन।

‘पटक पटक मुद्दा प्रक्रियादेखि सहमति भएपनि अटेरी गरेपछि गाउँलेको सहमतिमा बिरुवा काटिएको हो। फल्ने बेलाका बिरुवा काट्न नहुनेमा हाम्रो पनि सहमति हो। तर वन ऐन २०७६ लगायतका अन्य ऐन नियमले पनि अतिक्रमण भएको जग्गा पूर्ण रुपमा खाली गराउनु पर्ने कानुनी प्रावधान छ। त्यसैले गाउँलेले अतिक्रमण हटाएका हुन्।’

सामुदायिक वनको संरक्षण, अतिक्रमण हटाउने नियमन तथा निरीक्षण गर्ने अधिकार समेत सामुदायिक वन उपभोक्ता समितिलाई रहेको छ। अतिक्रमण भएको जमिन फिर्ता ल्याउन निकै कठिन रहेको उनको भनाई छ।

सानीपातल काफलबारी सामुदायिकका अध्यक्ष रंग बहादुर रावत २०७१ सालदेखि अतिक्रमण गरेको जग्गा फिर्ता ल्याउन प्रयास गरे पनि नमानेपछि बाध्य भएर विरुवा नै काट्नु पर्ने अवस्था आएको बताए।

‘अतिक्रमण गरेको जग्गा फिर्ता गर्ने धेरै पटकको निर्णय कार्यान्वयनमा अटेरी गरेपछि सव डिभिजन वन कार्यालय नराकोट, प्रहरी र स्थानीयको सक्रियतामा बिरुवा काटेका हौं,’ उनले भने, ‘अब अन्य बिरुवा रोपेर वनलाई हराभरा बनाउँछौं।’

उनका अनुसार डिभिजन वन कार्यालयमा बिरुवा माग गरिएको छ। सल्ला, धुपी, ओखर, पिपल लगायतका थुप्रै बिरुवा लगाएर वनलाई हरियाली बनाउने योजना छ।

सिंजा–हिमा सव डिभिजन वन कार्यालय नराकोट जुम्लाका प्रमुख क्षेत्रबहादुर महतले राजीखुसी अतिक्रमण गरेको जग्गा नछोडेपछि अतिक्रमण हटाइएको बताए। उनले भने, ‘अतिक्रमण गरिएको वन क्षेत्र सिंजा ६ को पूर्वमा दिलौरी खोला पश्चिममा मासीडाँडा, उत्तरमा भुगाडी हान्ने ठूलो खोला र दक्षिणमा भेडानागी चारकिल्लामा फैलिएको छ।’

प्रकाशित मितिः   २०८१ जेष्ठ ११ at 11:20 am 

  • कमेन्ट (Comment)