जनसेवा युवा क्लबले उचाल्यो तेस्रो अमृत स्मृति कपको उपाधि

रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा रावतबाडा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै जनसेवा युवा क्लबले तेस्रो अमृत स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

​खेलको सुरुवाती चरणमा बनाएको १–० को अग्रतालाई अन्तिमसम्म जोगाउन सफल हुँदा जनसेवालाई च्याम्पियन बन्न पर्याप्त भयो । उता, पराजित रावतबाडा एफसीले खेलभर उत्कृष्ट प्रदर्शन गरे पनि गोल फर्काउने प्रयासहरू असफल हुँदा उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।

​प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि एवं कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले विजेता तथा उपविजेता टोलीलाई ट्रफी र प्रमाणपत्र वितरण गर्नुभयो ।

​सो अवसरमा बोल्दै सांसद शाहीले ग्रामीण तहमा हुने यस्ता खेलकुद प्रतियोगिताले युवाहरूलाई कुलतबाट टाढा राख्दै अनुशासित र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने बताए। “खेलकुदले आपसी सद्भाव बढाउनुका साथै ग्रामीण क्षेत्रमा लुकेका प्रतिभाहरूलाई राष्ट्रिय मञ्चसम्म पुग्ने बाटो खुलाउँछ,” उहाँले भन्नुभयो, “कर्णालीको खेलकुद पूर्वाधार विकास र खेलाडीहरूको प्रोत्साहनका लागि मेरो तर्फबाट सधैँ सहयोग रहनेछ ।”

​आयोजक समितिका तर्फबाट दुर्लभ खत्री र संगम शाहीले प्रतियोगितामा स्थानीय क्लबहरूको उत्साहजनक सहभागिता रहेको जानकारी दिनुभयो । साथै, तेस्रो संस्करणको यस प्रतियोगितालाई सभ्य र भव्य रूपमा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण खेलाडी, दर्शक, प्रायोजक एवं सरोकारवालाप्रति उहाँहरूले आभार व्यक्त गर्नुभएको छ ।

प्रकाशित मितिः   २०८३ कार्तिक २९ at 7:17 pm 

  • कमेन्ट (Comment)