देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा गरिने

सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डका मृतकका परिवारसँग सरकारले शहीद घोषणासहित ६ बुँदे सहमति गरेको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउनमा भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति भएको छ ।
शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापछि अस्पतालमा रहेका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझ्नेछन् ।

सहमतिअनुसार नेपाल सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ । साथै, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ । प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर पनि प्रदान गरिनेछ ।

सम्झौतापत्रमा गृहमन्त्री सुधन गुरुङ तथा पीडित पक्षका तर्फबाट मृतक ओमप्रकाश मेहताका अभिभावक कुशदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् ।

बिहीबार रातभर भएको छलफलपछि शुक्रबार बिहान करिब ५ बजे सहमति भएको हो ।
सम्झौतासँगै पीडित परिवारले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । मृतकद्वयको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने जनाइएको छ ।

प्रकाशित मितिः   २०८३ साउन १५ at 7:19 am 

  • कमेन्ट (Comment)