कथा : हो कि हो कि

हो कि हो कि ! नियालेर हेर्छु उसलाई हो कि हो कि जस्तो लाग्छ । यता आफ्नो मन कागती निचोरेको झैं अमिलो हुन्छ । माघ ५ गते आजै बिहानदेखि सुरु भयो । पुस फासफुस सकिएको छ । यही माघ ५ को कस्तो महत्व हुन्थ्यो जीवनमा । उ बिउझिन नपाउँदै गालामा च्वाप्प म्वाई खाइदिन्थेँ । मेरो म्वाईको झड्काले ऊ झसङ्ग हुन्थी र आत्तिदै बिउझिन्थी । म भने जन्मदिनको शुभकामना भन्थ्ये । उ मुस्कुराउँथी । र चुम्बनको धङ्गधङ्गतीमा ‘धन्यवाद’ भन्दै उठ्थी ।

म पर्दा हटाउँछु । झ्यालका सिसाहरुमा पानीको बाफ लपक्कै टाँसिएको छ । औंलले बाफ च्यात्दै हेर्छु एउटा सानो संसार । बाटोमा मान्छेहरु डम्म लुगा गुथेर कोही घामको प्रतिक्षामा र कोही कामका लागि कुदिरहेका छन् । पूर्वबाट एउटा बिरसिलो सूर्य हुस्सु छिचोल्दै देखिदै छ ।

‘कस्तो बिरसिलो बिहान ।’ म कल्पदै आफ्नै कोठामा केन्द्रित हुन्छु । ऊ ओछ्यानमा कोल्टिएकी छे । म उसको कोल्टाइलाई एक नजर फ्याकिदिन्छु अहो ! उही हो कि हो कि ले म फेरि भाउन्न हुन्छु । दिमागमा एउटा तेज झड्काले हान्छ । म रन्थनिन्छु । हिजोआज यही रन्थनिनु नै दैनिकी भएको छ । ‘कस्तो छ तिमीलाई शोभा ?’ मनको भित्री वाफलाई अलिकति चलाउन खोज्छु म । ‘जिउ भारी भएको छ । हल्का टाउको दुखेको छ ।’ ऊ सिरकको गुटुमुटुभित्रैबाट बोल्छे । उसलाई हेर्न सक्दिनँ । शब्दहरु निशब्द छन् । आँखा कोठाभरि फ्याकिदिन्छु । अस्तव्यस्त छन्, सामानहरु । पर्दा विरक्तिएर झुण्डिएको छ । कोठा मेरो मानसिकता झैं हतास हतास छ, उदास उदास । कुनै पनि सामान ठिक र सन्तुलनमा छैन ।

म नियाल्छु आफ्नै विगत । सम्झन्छ आफ्नै सोचहरु ।

सब राष्ट्रिय सोच र अनुशासनमा बसेर बिताएछु । २५ वर्षको उमेरमा २१ वर्षकी केटीसँग बैवाहिक जीवनमा बाँधिएँ । दुई सन्तान इश्वरको वरदानलाई अक्षरस पालना गरेँ । विदेशिएर हैन स्वदेशी माटोमा नै केही गर्नु पर्छ भनेर कृषिमा होमिइरहेँ । हेर्छु अझै आफैलाई एउटी छोरी उच्च शिक्षाको लागि विदेश गएकी दुई वर्ष भयो । अर्की छोरी स्कुल छाडेर कलेज भर्खर पढ्दैछे । सन्तानको उमेरको भिन्नता, संस्कार र संस्कृति सरकारले भने लेखे बमोजिम नै दिएँ । आधुनिकता र नैतिकता सँगसँगै बोकिरहेछु । सरकार ‘सानो परिवार सुखी परिवार’ भन्थ्यो । त्यसैमा चलेँ । पछिल्लो पटक ‘सुखी नेपाली सम्वृद्ध नेपाल’ भन्छ सरकार । आफूलाई खुसी नेपाली नै लाग्थ्यो । सम्वृद्ध नेपालको दिशामा आफूलाई सरिक गराइरहेकै छु । तर एक्कासी के भयो भयो ? खाली हो कि हो कि जस्तो लाग्छ । मन त्यसै भाउन्न हुन्छ । कता के दुःखेको के नपुगेको वा के छुटेको जस्तो । मन, दिमाग अरठ्ठ भएर आउँछ । भतभत पोल्छ पेट ।

सोफामा बस्दिनँ । टिभी नखोलेको चार महिनै भयो क्यारे । आज पनि खोलिनँ । मोबाइलमा युट्युव र सामाजिक सञ्जालतिर आँखा लगाउन मन लागेन । यो मन भरङग भएको छ । मन भरङग भएपछि आफू आफू जस्तो हुँदैन रहेछ । भगवान श्रीकृष्णले गीताको कुनै अध्यायमा मेरो मनको यो अवस्थाको बारेमा अर्जुनलाई केही सुनाएका थिए कि थिएनन् हँ जान्न मन लाग्यो । फेरि लागेन । कस्तो खोलाको फिँजजस्तो फुल्ने र क्षणभरमै फुट्ने भएको छ मेरो मन ।

शोभा उठ्छे । ट्रयाक र हुक्स लगाउँछे । रेशमी कपाल दाँईमा छर्किएको परालजस्तो जर्रो र छरपष्ट देख्छु । अनुहारमा कान्ति छैन । घडि हेर्छु, १०ः२५ बजेको छ । घडिपछि आँखा उसको पेटमै जान्छ । फेरि हो कि हो कि जस्तो लाग्छ । यो मन कागती निचोरेझैं अमिलो हुन्छ । केही खानुपर्छ अब । शोभा आफ्ना भोका आँखाहरु फ्याक्छे मलाई । म फ्रिज खोल्छु र एउटा सानो क्याटबरी थमाइदिन्छु । उ आधि भाँच्छे र चुस्छे । आधि मेरै मुखमा हालिदिन्छे । म क्याटवरीको गुलियोभित्र गुलियो पाउँदिन । उ वाक्क गर्दै बेसिनतिर दौडन्छे । हरे ! कस्तो हत्ते !

‘हो अब त पक्कै हो ।’ बेसिनबाट फर्कदै शोभा भन्छे ।

म अनुहार हेर्छु । उही अस्तव्यस्त छ । श्रृंगार नगरिएको आफ्नै बुढीको अनुहार कान्तिहीन लाग्छ । अझ त्यसमाथि उ त भर्खर बेसिनबाट वाक्क गरि फर्किएकी छे । पसिना फुट्न खोजेको छ निधारबाट । आँसुका दुई मोटा दाना झरेका छन् । प्रष्ट बगेको छ गालाबाट चिउँडोतिर । म हेर्छु उसको अनुहार कस्तो नीरश । यही निधार, यही आँखा, यही कपाल, यही नाक, कान, घाँटी , यही सम्पूर्ण अवयवहरु अलि अघिसम्म कति सुन्दर । फेरि अहिले कस्तो कान्तिहीन । कन्तबिजोग । भाइबर भर्भराउँछ । हेर्छु । विदेशबाट छोरीले कल गर्न खोजेकी रहिछे । हामी डाइनिङ्ग टेबलको मेचमा बस्छौं । मुखमा बनावटी खुसी मुस्कुराउँछ । म शोभालाई हेर्छु । उसको चेहरामा पनि नक्कली खुशी छ । भाइबर अन गर्छु ।

काठमाण्डौंबाट छोरी प्यारीलाई नमस्कार सिड्नीबाट बाबामामुलाई दर्शन । हाम्रो संवाद सुरु हुन्छ । भाइबरको यो हाम्रो ओपनिङ्ग वा ओयलकमिङ्ग संवाद हो । यसपछि कथा, परिवेश, परिस्थिति, काल आदिले जे जे माग्छ त्यतैतिर बरालिन्छौ ।

म सोध्छु कता ? कलेजबाट कोठातिर ? हैन काममा जान लागेकी । ऊ भन्छे । हेर्छु छोरीलाई । उ कपाकप चिकेन बिर्यानी खाइरहेकी छे । प्लाष्टिकको टिफिन क्यारेटबाट । कस्तो बदमास जिन्दगी विदेशमा । मेरो मन फेरि हुडलिन्छ । यता नेपालमा हुँदा खाना खान आउ छोरी भनि पाँच पटक बोलाउनै पर्थ्यो आइसकेपछि थाल, कचौरा, प्लेटमा सबै सफा चट सजाएर दिइन्थ्यो । अनि मात्रै ऊ बिस्तारै खान्थी । विदेशमा त भागमभागको जिन्दगी । बदमास समय । बदमास जिन्दगी । खानलाई पनि फुर्सद छैन । हरे !

‘हजुरहरुले खाना खाइस्यो छ ?’ छोरी चपाउँदै बोल्छे । ‘खाना पकाएको छैन ।’ यताबाट शोभाको मलिन आवाज सुनिन्छ । ‘११ बजिसक्यो किन नपकाएको ?’ ‘ल छिटो छिटो पकाइस्यो । मेरो ४५ मिनेटको यात्रा छ । यही यात्रामा म हजुरहरुले पकाएको र खाएको हेर्न चाहान्छु ।’

हुन्छ । म भन्छु ।

मोबाइल डाइनिङ टेबलमा रहेको थर्मसमा अढेस लगाइदिन्छु । मोबाइलको स्क्रीनमा छोरीको मामु र बाबा प्रष्टसँग देखिएको छ । शोभा मेचमै बसेर छोरीको कुरा सुन्छे । म फ्रिजको तरकारी निकाल्छु । पखाल्छु र फेरि मोबाइलमै आफ्नो छाँयाछवि देखिने गरि तरकारी काट्न थाल्छु । छोरी भन्छे ‘मामुको अनुहार किन मलिन ?’ फेरि थप्छे —‘खै बाबाको हेरम् त ।’ म बनावटी एक मुठी थप मुस्कान अनुहारमा दल्छु र च्यात्छु आफ्नै दुई हरफ ओठ । दाँतहरु देखिन्छन् । ‘बाबाको अनुहारमा पनि चमक छैन ।’ छोरी पड्किन्छे, ‘के भयो भनिस्यो त ?’

‘केही भएको छैन ।’ हामी यताबाट बोल्छौं । पत्याए पो । उ मरे पत्याउँदिन । म आलु काट्छु । प्याज काट्छु । प्याजको पिरोले आँखामा पोल्छ । आँसु बरर्र झार्छु । मडारिएको मन हल्का हुन्छ । शोभा भन्छे ‘खै म प्याज काटिदिन्छु ।’ उसको पनि मन हलुका बनाउन चाही । म चपिङ बोर्ड, चक्कु र एक दाना प्याज उसलाई दिन्छु । ऊ प्याजलाई काटी बस्छे । के को लागि प्याज काटेको ऊ भेउ पाउँदिन । छोरीको कुरा सुन्दै र हो म अँ मिसाउँदै ऊ प्याजलाई भुजुरी बनाउँछे । अस्तव्यस्त पारामा । म उसलाई हेर्छु । मनका आवेगहरु सब प्याजमा टुक्राटुक्रा गरि काटिएका छन् । मनका मैलाहरु आँखाबाट बरर झरेका छन् । म राइसकुकरमा खाना चढाउँछु । आलु, प्याज, गोलभेडाको तरकारमा छिप्छिपे रस हालिदिन्छु । हरियो खुर्सानी र हरियो धनिया काटेर ठिक्क पारेको छ । पोकपछि माथि माथि छर्किनु पर्छ । छोरी भन्छे ‘मलाई किन आजकाल फोटोहरु नपठाइसेको ? न बाबाले पठाइसिन्छ, न मामुले पठाइसिन्छ । के भयो हजुरहरुलाई ?’ म किचेन स्ल्यापसँगै ठिङ्ग उभिन्छु । के भएको छ भन्नु ? केही त पक्कै भएको छ । मनमा आँधी हुरी नै चलेको छ । डढेलो लाग्दै छ बिस्तारै । सखाप हुदै छ शरीर । तर भनिदिएँ सब ठिक छ । केही भएको छैन छोरी । अनि किन फोटो र भिडियोहरु नपठाइसेको ? त्यही फोटो र भिडियो हेरेर त मेरो मन रमाउँछ । यहाँको घर, सडक, सफाई, विकास अनि गोरो छाला र नीलो पानी त सब पराई हुन्।’ छोरी बोल्दाबोल्दै मलिन भई । तरर आँसु झारी । पुछि आफैले । हामीले नदेखेको जस्तो गर्‍यौं । भावनाको आँसुलाई शब्दको मलमले पुछ्नै सकिदैन रहेछ । ४५ मिनेट तुरुन्तै सकियो । छोरी काममा खटिई । आठ घण्टा काम छ रे । छोरी ओझेल परेपछि भान्छामा फेरि हामी दुई नै रह्यौं । मोबाइल बोल्न छाड्यो । आफू रोई रोई हामीलाई पनि रुवाएर गई छोरी । धन्न प्याजको तरकारी काटिएछ र हामी रोएको चालै पाइन । अब खाना खाने बेला भयो । शोभा उठी । उसको उठाई नै ढिलो छ, आजभोलि ।

म उसको उठाईलाई धीर र शान्त पाराले हेर्छु । हाँसको चाल छ उसको । उठ्दा ट्रयाक पछाडीबाट पेन्टी देखिएको थियो — ध्यू रङ्गको । नितम्ब जाँतो जस्तो चाक्लिएको छ । पेट हल्का हो कि हो कि ? जस्तो । म खाना पस्किन्छु । उसलाई दुई पन्यू । आधा नै हटाई । खाना नै रुच्दैन उसलाई । म आजकाल नबोली हेर्छु शोभाका हरेक गतिविधिहरु । ऊ पनि हरेक गतिविधिहरु नबोलीकनै गर्छे आजकाल । ‘खाना त खानु पर्छ नी लाटी ।’ म उसको कपाल सुमसुम्याउँदै बोल्छु । ऊ चुपचाप औँलाहरुले भातको सिता गनि बस्छे । कस्तो अप्ठेरो । दुई छोरीहरु छन् । सक्षम । जवान । यस्तो अवस्थामा नयाँ बच्चा जन्माउनुको के अर्थ ? छोरीहरुले के भन्लान् ? समाजले छोराको आशामा लोहनीले बच्चा जन्माउन लाग्यो भन्लान् । हाम्रो समाज पनि छि कति घिन लाग्दो ! मैले कुरिलो नेपालमा व्यवसायिक खेति अभियान बीस वर्ष चलाएँ । मेरै पछाडिको घरले बुझ्दैन । फोहर व्यवस्थापन गर्दै नेवारहरुको परम्परागत शैली साःगालाई पुर्नर्जीवन दिई प्राङ्गारिक मल बनाउने कामको अभियान चलाएको आठ वर्ष भयो । टोलका साथीहरुलाई थाहा छैन । तर मेरी बुढीको खस्केको अनुहार, चाक्लिदै गएको नितम्ब र हो कि हो कि ? जस्तो लाग्ने पेटमा भने वल्लाघरे, पल्लाघरे छिमेकीहरुको चासो बढेको जस्तो लाग्न थालेको छ । अहो, हाम्रो समाज ! पेटभित्रको अदृश्य गतिविधि कसरी थाहा पाउँछन् ? आश्चर्य ! र अन्यौलमा छु ।

शोभा दुई गास चारो टिप्छे । म उसका क्रियाकलपाहरुमा आँखा झिम्म गर्दिनँ । नियाल्छु । मेरो पनि थालमा यही चारो छ । हल्का चलाउँछु । हल्का हाल्छु मुखमा । खै ! स्वादै छैन । हिजोआज केहीमा पनि स्वाद लाग्दैन । केहीमा पनि रस देखिदैन । हामी दुबै उस्तै उस्तै छौं । शोभा वाक्क गर्छे र बेसिनमा थुक्छे । थालको चारो थालमै छोड्छे । मलाई पनि चारो टिप्न मन लाग्दैन । थालमै छोडिदिन्छु । छोरीहरुलाई बच्चामा पढाएको सम्झना आयो । उनीहरुको किताबमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेख्नु भएको बाल गीत सम्झेँ,

चिर्चिर गर्छे भङ्गेरो
चिर्चिर गर्छे भङ्गेरी

बालगीतको पुरै भाव भङ्गेरा र भङ्गेरीको क्रियाकलापमा छ । प्रेमिल अवस्थामा समस्या, अभाव र अन्यौलमा पनि स्वाद, रस र संगीत हुँदो रहेछ । सम्झन्छु, २०५५ सालको सुरुवाती दिन । यही समयमा बुढीले वाक्क गर्थी । त्यही वाक्क कति प्रिय थियो । त्यही समय उसको चाक्लिदै गएको नितम्बमा कस्तो रस थियो । हो कि हो कि ? लाग्ने उसको पेटमा कत्रो रहस्य थियो । हो कि हो कि पेट केही महिनामा हो मा परिणत भयो । त्यसपछि उसको अनुहार बिस्तारै खस्किँदै गए पनि शोभाको अनुहारमा छुट्टै आभा थियो । हाम्रो परिवारको शान, मान दोब्बर बन्दै गयो । हामीमा कति धेरै हाँसो खुशी फैलियो । सपनाहरु जन्मिए । सपनासँगै छोरी जन्मिई । त्यही छोरी अहिले अष्ट्रेलियाबाट सधैं भिडियो च्याट गर्छे ।

म वर्तमानमा फर्कन्छु । वर्तमानमा उही कोठा उही मान्छे र उही परिस्थिति छ । साबुन दलेर धुन मिल्ने भए, परिस्थितिलाई कति मिचिमिचि धुन्थेँ म । तर नमिल्ने । त्यसै छोडिदिएँ । शोभाको मिल्किएको खानासहितको थाल सिङ्कमा राख्छु । आफ्नो त पहिल्यै राखिसकेँ । भन्छु जुस खाउ बुढी । यस्तो बेला जुसबाट शक्ति लिनुपर्छ । ऊ ‘नाई नाई’ को इशारामा हात हल्लाउँछे । सानी छोरी कलेजबाट फर्किएपछि जचाउँन जानु पर्छ । म योजना बनाउँछु । शोभा मेरो योजनालाई ‘हस’ भन्ने संकेत दिन्छे ।

सम्झन्छु, सानो छोरी ऊ पनि कलेज पढ्ने भइसकी । यस्तो बेला फेरि बच्चा जन्माउनु, घाममा सुताउनु, तेल लगाउनु, आची सोर्नु, हुर्काउनु, नर्सरी यूकेजी पढाउनु । म त सम्झँदा सम्झँदै कहालिन्छु । म सोध्छु तिम्रो मिन्स रोकिएको कति भयो बुढी ? ‘ठ्याक्कै ७२ दिन भयो ।’ शोभा माघको तुसारो झैँ चिसो पोख्छे ।

म उसको पेटमा आँखा राख्छु । पेट हल्का उचालिएको छ । हो कि हो कि ? जस्तो । ‘दुई महिनाको भ्रुण कत्रो हुन्छ ?’ शोभा सोध्छे । मलाई पनि के थाहा । गुगल सर्च गरे त पक्कै बताउँछ होला पक्कै । तर खै र जाँगर ? भनिदिएँ थाहा छैन ।

तीन बजे कान्छी छोरी आई । हामी उसको मुख हेर्छौ क्वारक्वार्ती । स-साना डण्डिफोरहरु आउन थालेछन् । ‘के हेरेको ?’ आजकालका बच्चा हो । झर्किई भोकको तालमा । आमाले अनार काटिदिई । अम्लेट बनाई दिई । चिउरा र बिहानको त्यही आलु प्याजको तरकारी हाली छोरीलाई टक्राई । छोरी आइप्याडमै मस्त ।

हामी निस्कन्छौं घरबाट । पहिरनमा कुनै परिवर्तन थिएन । म ट्रयाकसुटभित्रै थिएँ, बिहानैदेखि । ऊ पनि ट्रयाक र हुक्समा थिई । त्यसैमा निस्कियौं । स्कुटी पोस्न जाँगर छैन । यो जाँगर ३० दिन यतादेखि क्रमशः हराउँदै जाँदो छ । हामी नजिकको मेडिकलमा छिर्छौ जो पहिलेदेखि नै हाम्रो चिनजानमा छ । मान्छे बसिरहेका थिए बेन्चमा । भन्ने के ? सोध्ने के ? प्रश्नले आफैलाई हँसिया देखायो ।

कम्पाउण्डरले सोध्यो ‘के भयो अंकल ?’ मनमा अनेक कुराहरु खेलाएपछि, आफ्नो जाँगर आफैले मारेपछि यो उमेर ह्वात्तै बढ्दो रहेछ । दुई महिना अघिसम्म यही कम्पाउण्डरले हामीलाई दाई भाउजु भनि टोपल्थ्यो । म चुपै भएँ । शोभाले बोली ‘पिसाब जचाउन आएको । प्रेग्नेन्टको शंकाले ।’ उसले सानो बट्टा दियो । त्यही बट्टा लिएर बुढी ट्वाइलेट छिरी ।

कम्पाउण्डर मलाई हेर्दै फिस्स हाँस्छ । तर कस्तो नमिठो हाँसो । त्यसो त आजकाल हरेक कुराहरु नमिठो नै लागिरहेकै छ । शोभा ट्वाइलेटबाट निस्किई । कम्पाउण्डरले नाम र उमेर सोध्यो ।
नाम:- शोभा लोहनी
वर्ष :-४३
लिङ्ग :- स्त्री
‘कति भयो मिन्स रोकिएको ?’ ७२ दिन । कम्पाउण्डरले कागज र पिसाब एकै ठाउँमा राखेर सानो झ्यालबाट ल्यावपट्टी पठाईदियो । हामी बेन्चमै बस्यौँ । चुपचाप चुपचाप । आधा घण्टापछि रिपोर्ट आयो । कम्पाउण्डरले बन्दखाम हामीलाई थमाईदियो । हामी व्यग्र प्रतिक्षामा छौं नतिजाको । तर यो परीक्षामा हामी पास हुनु छैन । हामी फेल हुन चाहान्छौं यस्तो परीक्षा हामी दुबैले पहिलो चोटी दिएका थियौं झुक्किएर । तर कहिले कहाँ, कसरी, केही थाहाछैन । मैले फटाफट खाम खोलेँ । पत्रमा लेखिएको थियो नेगेटिभ । हामी दुबैको आँखा चार भए । शोभा हाँसी । म हाँसे । अघिसम्म हो कि हो कि ? भनिरहेको बुढीको पेटले हैन छैन भनिरह्यो ।

मैले हाम्रो जोडीको सेल्फी लिएँ । फोटोलाई फेसबुकमा अपलोड गरेँ, बुढीलाई ट्याग गरेँ । लाइक, कमेन्ट मकै पड्के झैँ पड्कन थाल्यो ।

अधिकांश कमेन्टहरुमा लेखिएको छ सुन्दर जोडी ।
तपाईको पनि कमेन्ट पाउन प्लीज ।

प्रकाशित मितिः   २०८१ जेष्ठ १९ at 6:50 am 

  • कमेन्ट (Comment)