मुगुको छायानाथ रारा नगरपालिका–७ स्थित टिप्ला गाउँनजिकै पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
रारा ताल भ्रमणका लागि पर्यटक लिएर जाँदै गरेको बा १७ च १८६४ नम्बरको स्कोरपियो आइतबार अपराह्न करिब ४ बजे रारा सडकखण्डको ‘जिरो प्वाइन्ट’ बाट करिब एक सय मिटर अगाडि दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रवीराज थपलियाका अनुसार दुर्घटनाका बखत गाडीमा कुल पाँच जना सवार थिए । घाइते भएका दुवै जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मुगु पठाउने तयारी भइरहेको छ ।
मृतक तथा घाइतेहरूको परिचय खुल्न बाँकी रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











कनका खबर । २०८३ कार्तिक ३०