मंगलबहादुर शाही कर्णालीको पाँचौं मुख्यमन्त्री नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो ।

शाहीले गठबन्धनमा रहेका नेकपा एमालेका ९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १४ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन मंगलबारै दाबी पेस गरेका थिए ।

कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदको आवश्यकता पर्छ । एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले गत शनिबार राजीनामा दिएसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो ।

४० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १०, राप्रपा र अन्य १/१ जना सदस्य छन् ।

शाही मुगु प्रदेशसभा २ बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए ।
शाहीले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री भएर काम गरिसकेका छन् ।

प्रकाशित मितिः   २०८३ साउन १२ at 7:36 pm 

  • कमेन्ट (Comment)