जुम्लामा अटो व्यवसायीको खुला विद्रोह : दुरव्यवहार र दमन कहिलेसम्म ?

जुम्ला । जुम्ला जिल्लामा विगत लामो समयदेखि विधिवत रूपमा अटो व्यवसाय सञ्चालन गर्दै आएको भैरवनाथ यातायात सेवा प्रा.लि., जुम्ला ले संघ तथा प्रदेशका पूर्व, निर्वतमान र बहालवाला माननीयहरूलाई सम्बोधन गर्दै खुला पत्र सार्वजनिक गरेको छ ।
मिति २०८२/०९/२२ मा जारी खुला पत्रमा कम्पनीले रुट परमिटको नाममा भइरहेको दुरव्यवहार, प्रशासनिक दमन र अव्यवहारिक ट्राफिक जरिवानाप्रति गम्भीर आपत्ति जनाएको छ। खुला पत्रमा जुम्ला जिल्लामा पूर्वाधार, स्वास्थ्य, शिक्षा, सञ्चार र यातायात विकासमा योगदानको जस राजनीतिक रूपमा लिइँदै आए पनि, त्यही विकासका नाममा बनेका सडकमा ससाना व्यवसायीलाई सहज रूपमा व्यवसाय गर्न नदिइएको आरोप लगाइएको छ ।
पत्रमा उल्लेख गरिएअनुसार भैरवनाथ यातायात सेवा प्रा.लि. मार्फत जुम्लामा ३०० भन्दा बढी युवाले आफ्नै घरआँगनमै रोजगारी पाएका छन्। तर कर तिरेर र विदेशी ऋणसमेत बोकेर सञ्चालन गरिएका सवारी साधनहरूलाई नगरपालिका तथा गाउँपालिकाको सिमानाको नाममा अनावश्यक ट्राफिक जरिवाना र दुर्व्यवहार गरिँदै आएको कम्पनीको गुनासो छ ।
जुम्ला जस्तो सहज र सरल भूभागमा समेत व्यवसाय सञ्चालन गर्न कठिन अवस्था सिर्जना हुनु दुःखद भएको उल्लेख गर्दै कम्पनीले आफ्ना माग र समस्या सरोकारवाला निकायसमक्ष सुनाउनुपर्ने कि कुनै एक अमुक कम्पनीलाई मात्र रुट परमिट दिन माग गर्नुपर्ने भन्ने गम्भीर प्रश्न उठाएको छ ।
खुला पत्रमार्फत जुम्लाको विकासमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चासो राख्ने राजनीतिक दल, संघ–संस्था, मानव अधिकार आयोग, नागरिक समाज, पत्रकार र बुद्धिजीवी वर्गलाई यस विषयमा ध्यान दिन आग्रह गरिएको छ ।
भैरवनाथ यातायात सेवा प्रा.लि. ले जुम्लाका प्रमुख जिल्ला अधिकारी मार्फत संघ तथा प्रदेशका पूर्व, निर्वतमान र बहालवाला माननीयहरूलाई औपचारिक रूपमा पत्राचार गरिदिन समेत अनुरोध गरेको छ ।खुला पत्रमा कम्पनीका अध्यक्ष लक्ष्मण सुनार को हस्ताक्षर रहेको छ।

प्रकाशित मितिः   २०८२ पुष २३ at 5:39 pm 

  • कमेन्ट (Comment)