स्थानीय चुनावको तयारी भन्दै एमालेले डाक्यो राष्ट्रिय भेला

नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ ।
पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा एमालेले लिएको छ ।

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिँदै भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका नेता तथा जनप्रतिनिधिको सहभागिता रहने जानकारी दिए ।

उनका अनुसार पार्टीको इतिहासमा पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसद्‌देखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुनेगरी राष्ट्रिय भेलाको आयोजना गरिएको छ । सहभागी संख्याका आधारमा महाधिवेशनपछिको ठूलो कार्यक्रमका रूपमा भेलालाई लिइएको बताए ।

भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । आचार्यका अनुसार भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्नु, पार्टीका निर्णय र राजनीतिक बुझाइमा एकरूपता कायम गर्नु तथा वैचारिक र संगठनात्मक एकतालाई थप मजबुत बनाउनु हो । साथै मुलुकमा पछिल्लो समय देखिएको कुशासन, राजनीतिक अन्योल र निराशालाई चिर्दै जनतामाझ नयाँ आशा र ऊर्जा सञ्चार गर्ने रहेको छ ।

प्रकाशित मितिः   २०८३ मङ्सिर १ at 3:09 pm 

  • कमेन्ट (Comment)