शक्तिको आडमा सत्यतालाई
पैतालाको मुनि राख्ने यो भिडमा
काँडाको शिर उठाएर
फलामको शरिर लिएर जन्मेकि
म एक आगो हुँ,
एक क्रान्तिकारी हुँ
अपमानले मेरो शिर कुल्चिने तिम्रा पैताला काट्न
मेरा शरीरमा ज्यादती गर्ने तिम्रा हात भाच्न
तिम्रा अत्याचारलाई भष्म खरानी पार्न
एक वर्षातको रातमा
उत्पिडनको समुन्द्रमा
जन्मिएकी एक ज्वालामुखी हुँ
प्रेमिल बनी आउँछौ तिमी प्रेम प्रस्ताव राख्न रातो गुलाफ लिएर
अपसोच
उत्पीडनको भुमरीमा
मैले तिम्रो शोषणको गुलाफ कहाँ सजाऊ?
मैले तिम्रो पृतृसत्ताको घुम्टो कतिन्जेल औडौ?
असम्भव!
म तिम्रो रातो गुलाफलाई मेरो शिरमा सजाउन सक्दिनँ
म तिम्रो घुम्टो ले शिर ढाक्न सक्दिनँ
भन्छौ भने पनि स्वीकार छ मलाई
म तिम्रो अत्याचारको महाबिद्रोही हुँ
मलाई सिन्दुर होइन स्वतन्त्रता चाहिन्छ ।
पोते होइन समानता चाहिन्छ।
म सक्दिनँ तिम्रो सिन्दुरको भार बोक्न
सक्दिनँ तिम्रो पोतेको भार थेग्न
सक्दिनँ तिम्रा इसारामा नाच्न
मलाई क्रान्तिको गित घन्काएर नाच्न मन छ ।
धर्ती फोडेर जितेर आकाश आकाश च्यातेर
क्रान्तिको रातो टीका लाउन मन छ
रुदा रुदैँ थाकेकी मेरी आमालाई
हासोँको समुद्र उठाएर उपहार दिने मन छ ।
कालो बादलले छोपेको
मेरी दिदिको मुहारमा चन्द्र मुस्कान भरिदिनु छ ।
तिम्रा गिद्धे नजरको सिकार भएकी बहिनीको गालामा कस्सिदै गएको उत्पीडनको डोरी काटेर दिनु छ ।
एक सुन्दर जीवन
म जन्मेको घरलाई मेरो मात्रै हक लाग्छ भनेर
अहङ्कार देखाउने दाइ र भाईको अहङ्कार तोडेर
बनाउनु छ समतामूलक दुनियाँ
जुन दुनियाँको, अस्तित्वहरू एकनासो हुनेछन्।
जहाँ असमानताका पर्खालहरू भताभुङ्ग हुने छन्।
त्यसैले त
म एक अथक यात्री हुँ
उत्पीडित र सर्वहाराको पहरेदार हुँ।
जन्जीरको जीवनको प्रतिनिधि हुँ।
म एक विद्रोही हुँ ।।
ललिता गजमेर । २०८१ जेष्ठ १२