हरेक मान्छेलाई दैनिक आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन आवश्यक हुन्छ। यी तीन कुराको सन्तुलन मिलेन भने मान्छेमा अस्वभाविक परिवर्तन आउन थाल्छ। शारीरिक रुपले स्वस्थ हुँदाहुँदै पनि मानसिक रुपमा ऊ कमजोर हुन थाल्छ। जब मानिसको जीवनमा खुशी दिलाउने घटनाभन्दा पीडा दिलाउने घटना बढी घट्छन्, तब मान्छे अधिक समय दु:खी भएर बिताउँछ। धेरै समय दु:खी भएर बस्दा मानिसको दिमागमा सकारात्मक सूचना प्रवाह गर्ने रसायनमा कमी हुन थाल्छ। त्यसपछि मान्छे अवसादन अर्थात डिप्रेशनको शिकार बन्न पुग्दछ।
डिप्रेसनको रोगमा व्यक्तिको दिमागमा सूचना प्रवाह गर्ने (सिग्नल सब्स्ट्यान्स) सेरोटोनिन, डोपामिन र नोरअड्रेनलिनमा असर पर्ने गरेको पाइएको छ।सेरोटोनिनले व्यक्तिमा सकारात्मक विचार प्रवाह गर्न मद्दत गर्छ। डिप्रेसन हुँदा सेरोटोनिनको मात्रा घट्ने गरेको पाइएको छ। यसै कारण चिकित्सकले डिप्रेसनका रोगीलाई सेरोटोनिनको मात्रा बढाउने औषधि दिन्छन्।
डिप्रेशनको शिकार भएको मान्छेमा आत्मबल, आत्मविश्वास र आत्मसम्मानको खडेरी पर्न जान्छ। उसलाई आफ्नो जीवन निस्सार लाग्न थाल्छ। यो निरर्थक जिन्दगी बाँचिरहनु भन्दा मर्नु नै जाती होला भन्ने धारणा पलाउन थाल्छ। ससाना कुराले पनि लामो समयसम्म दुखित बनेर समय गुजार्ने मान्छे नै डिप्रेशनको शिकार बन्न पुग्दछ। अक्सर गरेर आफूप्रति गरिएकाे अप्रिय बाेलीव्यवहारकाे तत्काल प्रतिवाद गर्न नसक्ने र दुखी भएर एक्लै समय बिताउने मान्छेलाई डिप्रेशनले छिटाे आक्रमण गर्दछ। डिप्रेशनले गाँजेपछि मानिसका क्रियाकलापहरु असामान्य बन्न पुग्छन्। उसको दिमागमा एउटा अमूल्य जीवनलाई सजिलै समाप्त पार्ने सोच पलाउदै जान थाल्छ।
विश्वमा अवसादन अर्थात् डिप्रेसनका कारण वर्षेनी करिब सात लाख मानिसले जीवन त्याग्छन्। नेपालमा पनि हरेक वर्ष सात हजार जतिले आत्महत्या गर्ने गरेका छन्। तर तथ्याङ्क नराखिएको हुँदा यो भन्दा पनि बढी हुनसक्ने अनुमान गरिएको छ।
डिप्रेशन भएको मान्छेले औषधी खाएर मात्र रोग निको हुँदैन। जुन घटना र व्यवहारका कारण डिप्रेशन भएकाे हाे, ती घटना र व्यवहार उसकाे सामू दाेहाेरिन दिनु हुँदैन। उसलाई पारिवारिक वातावरण, प्रेम, सद्भाव, समन्वय र मनोरञ्जनको उत्तिकै खाँचो परिरहेको हुन्छ। दु:ख पीडा भुल्न हमेशा खुशीयाली वातावरणको सिर्जना गरिदिनु पर्दछ।
आत्महत्या गर्नु कायर मानसिकताको उपज मात्र होइन, धार्मिक दृष्टिले पाप पनि हो। शास्त्रमा पनि भनिएको छ – आत्महत्या गर्ने मान्छे कहिल्यै पनि स्वर्गमा जाँदैन। त्यसको सजाय उसले अवश्य भोग्नु परेको हुन्छ।
त्यसैले, हमेशा सकारात्मक सोच बढाउने क्रियाकलापहरुमा सहभागिता जनाऔँ। मस्तिष्कमा सेरोटोनिनको कमी हुन नदिन दु:ख पीडा भुलेर हाँस्ने ,खेल्ने र रमाउने गरौं। जिन्दगीलाई सार्थक तुल्याउन घरपरिवार, देश र समाजमा मिलेर सुन्दर जीवन जिउने प्रण गरौं।
नवराज न्यौपाने । २०८१ असार १५