हावाहुरीले उडायाे राँसामालापानीको बिद्यालयकाे जस्तापाता : १० लाख जति क्षेती

जुम्लाको तिला गाउँपालिका–९ राँसामालापानीमा रहेको ज्योति माध्यमिक विद्यालय शुक्रबार साँझ आएको हावाहुरीका कारण क्षतिग्रस्त बनेको छ । हावाहुरीले विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुर्‍याए पछि त्यहाँ अध्ययनरत विद्यार्थीको पठनपाठन प्रभावित हुने देखिएको छ।
स्थानीयका अनुसार अचानक चलेको तीव्र हावाहुरीले विद्यालयको टिनको छाना उडाएको छ भने काठबाट बनेका अधिकांश संरचना भत्किएका छन् ।
कक्षाकोठा भित्र रहेका शैक्षिक सामग्री, पुस्तक तथा फर्निचर समेत क्षतिग्रस्त भएका छन् । केही घण्टा अघि मात्रै विद्यार्थीको चहलपहलले भरिएको विद्यालय अहिले भग्नावशेषमा परिणत भएको छ ।
विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणाली समेत पूर्ण रूपमा नष्ट भएपछि विद्यालय अन्धकारमा डुबेको छ । विद्युत सेवा नपुगेको उक्त क्षेत्रमा सौर्य ऊर्जामै निर्भर विद्यालय अहिले ऊर्जा विहीन बनेको प्रधानाध्यापक माेतीराम बुढाले जानकारी दिए ।
उनका अनुसार, यसले आगामी दिनमा नियमित कक्षा सञ्चालनमा थप समस्या सिर्जना गर्ने देखिएको बताए । स्थानीय हरि बहादुर थापाले विद्यालय गाउँको आशा र भरोसाको केन्द्र भएको बताए ।
प्रधानाध्यापक बुढाका अनुसार, हावाहुरीपछि विद्यालय परिसरको अवस्था अत्यन्त पीडादायी बनेको बताए। केही दिनअघिसम्म बालबालिकाको हाँसोले भरिएको आँगन आज उजाड बनेको बताए।
प्रारम्भिक अनुमान अनुसार विद्यालयमा ८ देखि १० लाख रुपैयाँ बराबरको क्षति पुगेको उनले जानकारी दिए ।
दुर्गम ठाउँमा अभावका बीच पनि छोराछोरीलाई पढाएर राम्रो भविष्य बनाउने सपना यही विद्यालय सँग जोडिएको उनकाे भनाइ छ । उनले भने, तर प्राकृतिक विपत्तिले गाउँको त्यो सपना नै चकनाचुर बनाइदिएको बताए ।
स्थानीय युवा बिन बहादुर रावतका अनुसार भौतिक संरचनासँगै विद्यार्थीको मनोबलमा समेत असर परेको बताए । विद्यालयको अवस्था देखेर कतिपय विद्यार्थी भावुक बनेकाे उनकाे भनाइ छ ।
युवा रावतका अनुसार अभिभावकहरू पनि बालबालिकाको पढाइ कसरी अगाडि बढाउने भन्ने चिन्तामा छन् । युवा बिन बहादुरका अनुसार हावाले बिद्यालयकाे छाना उडाउदा प्रमुख जिल्ला अधिकारी समक्ष तत्काल राहतको व्यवस्थापन गरिदिन ध्यानाकर्षण गरेकाे बताए ।
स्थानीय समुदाय, अभिभावक र श्रमदानबाट निर्माण गरिएको विद्यालय क्षतिग्रस्त भएपछि विद्यालय व्यवस्थापनले पुनर्निर्माणका लागि विभिन्न निकायसँग सहयोगको अपिल गरेको छ।

प्रकाशित मितिः   २०८३ जेष्ठ ९ at 4:51 pm 

  • कमेन्ट (Comment)