फोटोमा मुक्तक प्रतियोगिताका उत्कृष्ट पाँच मुक्तक

एक कान दुई कान हुँदै मैदान छुन्छ बुनेको कुराले
मनमा शान्ति ल्याउँदैन कदापि हावामा उनेको कुराले
आँखाले देखेको कुरा त कहिलेकाहीँ झुटो हुन्छ सावित,
नपत्याउनु कहिल्यै र निर्णय नलिनु सुनेको कुराले ।
– प्रगति राई ‘उदगार/भोजपुर

डर नमान्नु अघिपछि भुक्नेहरुसँग
उँभाे फर्की आकाशतिर थुक्नेहरुसँग
कमि छैन समाजभित्र नारदमुनिकाे
टाढा हुनु विषाक्त हावा फुक्नेहरुसँग ।
– आर.सी राई/काठमाडौं

रिसलाई पैतालामुनि दबाएको माटो बन्नु
सत्य बोल्नु सत्य सुन्नु ,सत्मार्गको बाटो बन्नु
उचाल्दै पछार्नेको कमि छैन यो दुनियाँमा ,
वैरभावले कान भरे पनि केही नसुनेर लाटो बन्नु ।
– संगीत खरेल/काठमाडौं

इसारा चल्छ खासखुस चल्छ चल्नेहरुको
कसैको प्रगतिमा आगो बल्छ बल्नेहरुको
मुखको विषालु हावा कानसम्म छिर्यो भने
एकदिन मुखै रहन्न कानै गल्छ गल्नेहरुको ।
– कृष्णा रिजाल/दाङ

दुःख परेर रोएकि थिएँ पीर परेरै रोएकी थिएँ
खुसी सबै सकिएकाथे, मन मरेरै रोएकी थिएँ
मेरा आँसु गीत बनाई बस्तीभरि फैलाइएछन्
रुन त म झ्याल ढोका बन्द गरेरै रोएकी थिएँ ।
– सुस्मिता श्रेष्ठ/धादिङ

काठमाडौंमा संचालित ‘फोटोमा मुक्तक प्रतियोगिता’को एक सय १७८ औं शृङ्खला सम्पन्न भएको छ। फोटोमा मुक्तक प्रतियोगिता कार्यक्रम काठमाडौंका सुनिल अधिकारीद्वारा परिकल्पना गरिएको नेपाली साहित्यको मुक्तक विधालाई उन्नयन र प्रवर्द्धन गर्नको लागि सुरुवात गरिएको कार्यक्रम हो।

प्रत्येक शृङ्खलामा ५ जना मुक्तककारलाई विजेता घोषणा गर्ने गरिन्छ। तिनै विजयी पाँच जना मुक्तककारका ५ वटा मुक्तकहरु फोटोमा मुक्तक प्रतियोगिताको एक सय ६४ औं शृङ्खलाबाट कनका खबरको अनलाइन पत्रिकाबाट छपाइँदै आइएको छ।

प्रकाशित मितिः   २०८१ असार १८ at 6:48 am 

  • कमेन्ट (Comment)