भोटेकोशी विपद्‌मा सर्वदलीय सहकार्य अलपत्र

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार प्रधानमन्त्री बालेन शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार ई. सुदीप ढकाल र रास्वपा सभापति रवि लामिछानेसँग भेटे ।
‘दुवै भेटमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछिको विपद्बारे छलफल भयो,’ मुख्यमन्त्री मगरले भने, ‘राहत वितरण र पुनर्स्थापनाको सन्दर्भमा संघ सरकारले आवश्यक साधन र स्रोतको संकलन गर्ने, प्रदेशले समन्वय गर्ने र स्थानीय तहबाट वितरण गर्नेमा सहमत भएका छौं ।’

रास्वपा सभापतिको सचिवालयका अनुसार मुख्यमन्त्री मगरले विपद्पछिको अवस्थामा तीन तहको सरकारले कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक रहेको बताएका थिए । यसबारे समन्वय नहुँदा प्रभावित क्षेत्रमा राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्‍याउन असहज भएको भन्दै ध्यानाकर्षण गरेका थिए ।

रास्वपा सभापति लामिछानेले भने विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्नेमा जोड दिएका थिए ।

‘यतिबेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौँ,’ सभापति लामिछानेले भनेका थिए । साथै, संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मितिः   २०८३ भाद्र १५ at 6:00 pm 

  • कमेन्ट (Comment)