एमालेकै लाइनमा कांग्रेस,प्रतिनिधिसभा पुनर्स्थापना गर्न बहुमत सांसदकाे हस्ताक्षर सर्वाेच्चमा

काठमाडौं : प्रमुख राजनीतिक दलहरू प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा देखिएका छन्। भित्रिशक्ति पनि पुनर्स्थापनाको पक्षमा लबिङ आएको चर्चा पनि उत्तिकै छ। भित्री शक्तिको बोली जेन–जीका अगुवाहरूले गरिरहेको पनि टिप्पणी भइरहेको छ।

कांग्रेस र एमालेका विघटित प्रतिनिधि सदस्यहरू हस्ताक्षरसहित पुनर्स्थापना लागि सर्वोच्च पुगिसकेका छन्। एमालेको विघटित संसदीय दलको बैठकले नै निर्णय गरेर प्रतिनिधिसभा पुनर्स्थापनाका लागि रिट निवेदन दिइसकेको छ। एमालेको विघटित प्रतिनिधिसभामा ७९ सिट छ। त्यस्तै कांग्रेससहित ६५ जनाले हस्ताक्षरसहित सर्वोच्चमा मुद्दा हालिसकेका छन्।

केही साना दलहरूसमेत समावेश भइरहेका छन्। कांग्रेसका ५७ तथा जनमत पार्टीकी गोमालाभ सापकोटा, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)की हसिना खातुन, स्वतन्त्र सांसस योगेन्द्र मण्डलले मंगलबार मात्रै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा पूरक निवेदन दिएका छन्। कांग्रेसका ८ सांसदले मंसिर २३ गते रिट दर्ता गरिसकेका छन्।

विघटित प्रतिनिधिसभाका कांग्रेसका ८८ सांसद छन्। विघटित प्रतिनिधिसभाको बहुमत सदस्य हस्ताक्षरसहित अदालतमा पुगेका छन्। प्रतिनिधिसभा २ सय ७५ सदस्यीय छ।

कांग्रेस सभापति देउवाले नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई आफूहरू प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा लागिसकेको जानकारी दिइसकेका छन्। प्रचण्डले नै यो कुराको खुलासा गरेका हुन्।

२०७७ पुस ५ र २०७८ जेठ ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटन पनि बदर भएको थियो। त्यस्तै २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस पनि सर्वोच्च अदालतले बदर गरेर पुनर्स्थापना गरिदिएको थियो। २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विघटन गरेको प्रतिनिधिसभा २०६२/०६३ को जनआन्दोलनपछि ब्युँतिएको थियो। त्यतिबेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले संसद् पुनर्स्थापनाको मुद्दा जोडले उठाएका थिए।

कांग्रेस र एमालेको मुख्य जोड प्रतिनिधिसभा पुनर्स्थापनामा छ। उनीहरूले त्यसका लागि जोड बल लगाइरहेका छन्। पछिल्लो समय त जेन–जी अगुवा भन्नेहरूले पनि उनीहरूकै लाइन समातेका छन्। जेन–जी अगुवा सुदन गुरुङदेखि मीराज ढुंगानासम्म सर्वपक्षीय सरकार र प्रतिनिधिसभाको पुनर्स्थापनाको कुरा गर्न थालेका छन्। ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै आन्दोलन नै थालेका छन्।

प्रतिनिधिसभा पुनर्स्थापनाको कांग्रेस र एमालेको मागलाई जेन–जी अगुवाको कुराले पनि थप बल पुगेको छ। नत्र उनीहरू मिलेर निर्वाचनमा जानसक्ने सम्भावना पनि त्यतिकै छ। देउवा र ओलीको निकटताले यो पुष्टि गर्छ। उनीहरूबीच प्रतिनिधिसभा पुनर्स्थापनादेखि चुनावसम्मको सहकार्यताको विषयमा छलफल भइरहेको छ। विगतमा सरकारमा सहकार्य भए पनि कांग्रेस एमालेको निर्वाचनमा गठबन्धन भने भएको छैन।

प्रकाशित मितिः   २०८२ पुष ९ at 9:16 am 

  • कमेन्ट (Comment)