प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभयो, “प्रधानमन्त्रीका रूपमा मात्र होइन, यही देशका नागरिकका रूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुःखी छु ।
मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु । यो घटनाबाट ज्यान गुमाएका परिवारहरूको दुःख मैले महसुस गरेको छु ।
सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउने छ । फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारलाई कानुनबमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु ।”
प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुन अनुसार कारबाही हुने स्पष्ट पार्नुभयो ।
सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने प्रधानमन्त्री शाहको भनाइ थियो ।
उहाँले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभएको छ, “फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुस, रिस, डर, आक्रोशलाई हटाउनु होला ।
उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमित भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सद्भाव कायम राखौँ ।”
सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सो दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो ।











कनका खबर । २०८३ साउन १३