कांग्रेस बैठकमा उठ्यो स्वत: महाधिवेशन प्रतिनिधि बन्न पाउनु पर्ने माग

नेपाली कांग्रेसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउनु पर्ने विषय उठेको छ ।
२४ साउनबाट सानेपामा जारी बैठकमा धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउनु पर्ने विषय राखेका हुन् ।

तर, विशेष महाधिवेशनबाट संशोधित कांग्रेसको विधानमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था छैन ।

विशेष महाधिवेशनबाट संशोधन हुनुअघिको विधानको धारा १५(१)(ग) मा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था थियो ।

उक्त धारामा भनिएको थियो, ‘निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्य एक अवधिका लागि महाधिवेशन प्रतिनिधि ।’

संशोधित विधानमा धारा १५(१) अन्तर्गतको उपधारा (ग) हटाएको छ । यही हटाइएको व्यवस्थामा विशेष महाधिवेशनबाट गठन भएको केन्द्रीय कार्यसमितिमा रहेका केही नेताहरूले आपत्ति जनाइरहेका छन् ।
‘विशेष अधिवेशनमा सबैभन्दा बढी ताली बजेको विषय स्वत: प्रतिनिधि आउने व्यवस्था हटाउनु थियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘तर साथीहरू अहिले त्यसमा आपत्ति जनाइरहनु भएको छ ।’

प्रकाशित मितिः   २०८३ साउन २७ at 7:52 pm 

  • कमेन्ट (Comment)