जुम्लामा सवारी चालकलाई लक्षित गरी गरिएको लागुऔषध परीक्षणमा एक जना चालक पोजेटिभ देखिएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त टोलीले गरेको चेकजाँचका क्रममा चार जना सवारी चालकको लागुऔषध सेवन परीक्षण गरिएको थियो। परीक्षणका क्रममा भे १ ज ८६० नम्बरको भ्यान चालकको रिपोर्ट पोजेटिभ आएको प्रहरीले जनाएको छ।
रिपोर्ट पोजेटिभ आएपछि चालकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका इन्चार्ज जगतबहादुर कठायतका अनुसार लागुऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्दै सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चालकको परीक्षण गरिएको हो।
सवारी चलाउँदा चालकको लापरबाहीले दुर्घटनाको जोखिम बढ्ने भन्दै प्रहरीले नियमित चेकजाँचलाई प्रभावकारी बनाउँदै लगेको जनाएको छ। साथै, प्रहरीले सबै चालकलाई लागुऔषध सेवन नगरी जिम्मेवार र सुरक्षित रूपमा सवारी सञ्चालन गर्न आग्रह गरेको छ।
जुम्लामा चालकको लागुऔषध परीक्षण, एक पोजेटिभ











कनका खबर । २०८३ भाद्र २६