मुगुको छायाँनाथ रारा नगरपालिका -१४ बाओँ की रुप्सीला बुढुवाल(२३) का १५ महिना छोरा १७ दिन अगाडि सिरियस बिरामी भए। सास फेर्न समस्या भइरहेको उनको छोराको छाति र पेट सुनिएको थियोे।
अत्तालिएकी रुप्सीला खल्तीमा पाँच सय रुपियाँ बोकेर मुगु जिल्ला अस्पताल पुगेकी थिइन्। स्वास्थ्य अवस्था साह्रै बिग्रिसकेको उनको छोराको उपचार मुगुमा सम्भव भएन। जतिसक्दो चाँडो सुविधासम्पन्न अस्पतालमा नपुगाए जे पनि हुन सक्ने थियोे।
डाक्टरले बाँच्ने मर्ने निधो गर्न सकेनन्। नजिक पर्ने भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गरिदिए। रुप्सीला आफ्नै शैलीमा भन्छिन्, ‘छोराको हालत खराब छियो। मर्यो भुन्या घर क्यागरि एक्लै फर्कुँला सोच्याकी छियाँ!’
जुम्ला आउनलाई भाडा समेत नभएकी रुप्सीलालाई मुगु अस्पतालका डाक्टर र स्वास्थ्यकर्मी मिलेर १३ सय रुपियाँ सहयोग गरे। उनीसँग पाँच सय रुपियाँ थियोे। त्यही रुपियाँ गाँठो पारेर मर्ने, बाँच्ने निधो नभएको छोरा बोकेर उनी जुम्ला आइन्।
जुम्ला पुग्ने बित्तिकै बच्चालाई आइसीयूमा राखियो। त्यसबेला थकित रुप्सीलाले सन्तोषको सास फेरिन्। हल्का सितल महसुुस गरिन्। तर छट्पटी त बाँकी नै थियोे। किनकि छोरा बाँच्ने मर्ने निधो भएको थिएन। भर्खरको लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा आपत आइलगेको थियोे।
छोरो बाँच्ने होइन भन्ने पिरको वादल मडारिँदा रुप्सीला निराशाको घनघोर जंगलमा फेसे जस्तो मान्थिन्। ‘छोरो मरिजान्याछ। रित्ता हात घर क्यागरि फर्किउँला मात्तै सोच्याँ सर,’ निको भएर घर जान ठिक्क परेर छोरो काखमा हालेकी रुप्सीलाले उज्यालो मुहार लगाएर हल्का मुस्कुराउँदै उही पुरानो व्याथा सुनाइन्।
रुप्सिलाले छोराको नाम एलेन्द्र राखेकी छिन्। एलेन्द्रलाई १६ दिन अस्पतालमा राखेर निरन्तर उपचार गरिएको बालरोग विशेषज्ञ डा. कमल थानीले बताए। ‘सुरुमा साह्रै गाह्रो थियोे। हामीले पनि ग्यारेन्टी दिन सक्ने अवस्था थिएन। उपचार गर्दै जाँदा उसलाई राम्रो भयो। अहिले उ एकदम ठिक छ।’
उनका अनुसार रुप्सीलासँग छोराको उपचार गर्ने खर्च थिएन। खाना खर्च थिएन। उनमा आफूलाई समस्या छ भन्न सक्ने आँट पनि थिएन। छोटो समयमा सबै बुझेको प्रतिष्ठानको सामाजिक सुरक्षा शाखाले उनीहरुको उपचार खर्च र खाना खर्च व्यहोरी दियो।
एउटा बाहिरको दाताले उनी डिस्चार्ज भएर जाने बेला यातायात खर्च र होटलमा खाएको खाजा खर्च तिर्न भनेर ६ हजार रुपियाँ समेत दियो। प्रतिष्ठानमा बिरामी भएर आउने र आर्थिक अवस्था कमजोर भएका बिरामी र उनका आफन्तलाई उक्त दाताले सहयोग गर्दै आइरहेको डा. थानीले थपे।
यो सहयोग जुटाउने कामको संयोजन डा. थानीले नै गर्ने गरेका छन्। छोराको उपचारका निम्ति भनेर पाँच सय रुपियाँ बोकेर घरबाट निस्किएकी रुप्सीलाका हातमा फर्किँदा छ हजार रुपियाँ थियोे। उनी खुसी थिइन्।
इन्डियाको जैशीमोडमा कामका लागि गएका रुप्सिलाका श्रीमान् रुप बहादुर बढुवाल (२२) तीन दिन पछि अस्पताल पुगे। सुरुमा उनी निकै हतास मानसिकतामा थिए। तर जानेबेला उनको अनुहारमा बेक्लै प्रकारको मुस्कुराहट थियो।
फोक्सोमा पीप जमेर भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाको बच्चा निको भएको मेडिसिन विभागका विशेषज्ञ चिकित्सक डा. राजेन्द्र मडी गिरीले बताए। एलेन्द्रको छातीका सुरुदेखि हालसम्मका एक्सरेहरु देखाउँदै उनले भने, ‘फोक्सो साह्रै खराब थियोे। पाइप हालेर जमेको पीप बाहिर निकालिएको हो। सुखद संयोग भनौं, ऊ बाँच्यो।’
अस्पतालको निरन्तरको सेवा। डाक्टर र नर्सहरुको नियमित हेरचाहले एलेन्द्र बाँचेँ। निकै अत्तालिनुपर्ने अवस्थामा पुगेको परिवार खुसी छ। अचेत अवस्थामा आफूलाई चेकजाँच गरेका डाक्टर देखे भने आजभोलि एलेन्द्र चिनेका आफन्त जसरी फिसिक्क हाँस्छन्।
उनीहरु जस्ता बिरामीका आफन्त खुसी भएको देखेर उपचारमा संलग्न चिकित्सकहरुलाई ओैधी सन्तुष्टि मिलेको छ। बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बालरोग वार्डमा भेटिएका डा. थानी र डा. गिरीमा असिम सन्तुष्टि देखिन्थ्यो।
महेश नेपाली । २०८१ साउन ४