प्रधानमन्त्री-रास्वपा : बढ्दैछ छटपटी

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गत शुक्रबार राती राखेको फेसबुक स्टाटसमा आलोचना भएपछि शनिबार बिहान उद्योगहरूमा भइरहेको सुधारबारे अर्को तथ्य राखे । प्रधामन्त्री बालेनले ‘कहिलेकाहीँ एक्लै लड्नुपर्दछ’ भन्दै अभिव्यक्ति दिएका थिए । शनिबार अर्को स्टाटस लेख्दै ‘टिमवर्क’ ले उद्योगहरूमा सुधार हुन सकेको उदाहरणहरू पेश गरेका थिए ।
शुक्रबार राति ११:०५ बजे सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनले सुधारका लागि एक्लै लड्नु परेको बताएका थिए । आम नागरिक, विपक्षी, आफ्नै दलका नेता कार्यकर्ताले सरकारको क्षमता उठाएर प्रश्न गरेपछि नागरिकलाई ढाडस दिएका थिए ।

‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस्,’ नागरिकलाई आश्वस्त पार्ने प्रयासले भनेका थिए,‘सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन ।’

अघिल्लो दिन एक्लै लड्नुपरेको आफ्नो बोली शनिबार बिहान बालेन स्वयंले काटे । बन्द र घाटामा रहेका उद्योग र संस्थानहरूमा टीमवर्कले आशा देखिएको प्रधानमन्त्रीको निचोड छ ।

उनी भन्छन्,‘नयाँ सरकारले शुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ।त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको ‘टीमवर्क’ का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन् ।’

नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखाना विकास समितिमा भएको सुधारका कार्यहरु तथ्यांक सहित प्रधानमन्त्री शाहले देखाए ।
एकातर्फ, सुधारका कार्य गर्न एक्लै लड्नुपरेको अभिव्यक्ति दिएका प्रधानमन्त्रीको आलोचना भएपछि भोलिपल्ट टीमवर्क पनि रहेको धारणा बाहिर ल्याए ।
प्रधानमन्त्री शाहले एक्लै लड्नुपरेको अभिव्यक्तिलाई पार्टीभित्र नेताहरूले सहजताका साथ लिएनन् ।
प्रधानमन्त्री शाहको अभिव्यक्ति लक्षित गर्दै महामन्त्री विपिन आचार्यले भैरहवामा शनिबार विचार राखे । ‘देश एक्लैले बन्दैन । २७५ जना सांसदले पनि बन्दैन’, आचार्यले भने, ‘देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ ।’
देश बनाउन केन्द्र, स्थानीय तह र प्रदेशका जनप्रतिनिधिको एकीकृत शक्ति आवश्यक पर्ने आचार्यले बताए । रास्वपा नेता एवं पूर्व प्रवक्ता मनिष झाले प्रधानमन्त्रीको बोलीलाई सहजै लिएनन् । निर्वाचनबाट प्राप्त जनादेशलाई महान भएको बताउँदै झाले भने,‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन । हामी सबै साथमा छौँ । जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु । यहाँ कोही एक्लो छैन ।’
ग्यासको अभावबाट नागरिकहरुलाई परेको समस्या बढ्दै गएपछि स्वयं रास्वपाका सांसदहरूले सरकारको खबरदारी गर्न थालेका थिए ।
नागरिकको आक्रोश, संसद्मा प्रतिपक्ष र आफ्नै सांसदहरु सरकारप्रति खनिन लागेपछि प्रधानमन्त्री सामाजिक सञ्जाल मार्फत दु:खेसो पोखेका थिए ।
रास्वपा सांसदहरू इन्दिरा रानामगर, रमेश प्रसाईं, बदन भण्डारी, कमल सुवेदी, पारशमणि गेलाल, ज्वाला संग्रौला लगायतले खाना पकाउने ग्यासको चरम अभाव, रासायनिक मलको संकट, विपन्न नागरिकको दाहसंस्कार खर्च लगायतमा सरकारको शैलीमा प्रश्न गरेका थिए ।
रास्वपाले चुनावको बेला नागरिकलाई दिएको वचनको सरकारलाई स्मरण गराए । चुनावका बेला आफूहरूले दिएको ‘नो लाइन, वन्ली अनलाइन’को नारा सम्झिँदै सरकारलाई आक्रोश पोख्दै रास्वपा सांसद प्रसाईंले भने,‘चुनावताका सरकारी कार्यालयमा नो लाइन, रास्वपाको पालामा वन्ली अनलाइन भनेर आफैंले गरेको भाषण सम्झिन्छु ।’
खाना पकाउने ग्यासका लागि नागरिक भौतारिइहँदा प्रधानमन्त्री र मन्त्रीको भान्छामा ग्यास छ कि छैन ? भन्दै प्रसाईले प्रश्न तेर्साएका थिए ।
अर्का सांसद अमरेशकुमार सिंह संसद्‌देखि सामाजिक सञ्जालसम्म वर्तमान सरकारको शैलीप्रति खुसी देखिन्नन् ।
रास्वपाबाट वर्तमान सरकारको विरोध सबैभन्दा पहिले सिंहले सुरु गरेका थिए । देशमा चरम निराश रहेको नागरिकका समस्या बढ्दै गएकोप्रति सिंहले सरकारलाई सचेत बनाएका छन् । पछिल्लो अवस्थामा देखिएका समस्याहरूको फेहरिस्त नै सिंहले सरकारलाई सुनाएका छन् ।

प्रकाशित मितिः   २०८३ साउन २४ at 8:11 pm 

  • कमेन्ट (Comment)