
प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण पेश गरे पनि सार्वजनिक नगर्ने १,४३५ जना उम्मेदवार आगामी निर्वाचनमा उम्मेदवारी दिन अयोग्य ठहरिएका छन् । निर्वाचन कानुनअनुसार तोकिएको समयभित्र खर्च विवरण सार्वजनिक नगरेका कारण उनीहरूलाई यसपटक निर्वाचनमा उठ्न नपाउने व्यवस्था गरिएको हो।
अयोग्य ठहरिने उम्मेदवारको सूचीमा कर्णाली प्रदेशको जुम्ला जिल्लाबाट तीन जना पनि परेका छन्। जसमध्ये जुम्ला जिल्ला क्षेत्र नं. १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य माननीय टेकराज पछाई रहेका छन्। त्यसैगरी सोही क्षेत्रका प्रत्याशी तथा प्रदेशसभा सदस्य निर्वाचन २०७४ मा निर्वाचित भई कर्णाली प्रदेश सरकारका मन्त्रीसमेत भइसकेका पदम बहादुर रोकाया पनि सूचीमा समावेश छन् ।
त्यस्तै, जुम्ला जिल्ला क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका धिरेन्द्र राज गिरीले पनि निर्वाचन खर्चको विवरण सार्वजनिक नगरेको पाइएको छ।
निर्वाचन खर्च विवरण सार्वजनिक गर्नु कानुनी दायित्व भए पनि सो व्यवस्था उल्लङ्घन भएकाले उनीहरूलाई आगामी निर्वाचनमा उम्मेदवारी दिन नपाउने निर्णय गरिएको सम्बन्धित निकायले जनाएको छ ।











कनका खबर । २०८२ पुष १६