तिलामा जनतासँग उपाध्यक्ष कार्यक्रमको स्वास्थ्य शिविर

जुम्लाको तिला गाउँपालिकामा जनतासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत दुई दिने स्वास्थ्य शिविर संचालन गरिएको छ।

शिविरको उदेश्य दुर्गम भेगका महिलालाई स्त्रीरोग सम्बन्धि सेवा दिने रहेको तिला गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाले बताइन्।

उनका अनुसार जेठ चार पाँच गते दुई दिन शिविर गरिएको हो। जसबाट दुर्गम भेगका महिलाले स्वास्थ्य सेवा लिन पाएका छन्।

शिविर तिला गाउँपालिका -९ मानेचौरमा संचालन भएको तिलाका खोप फोकल पर्सन उत्तम देवकोटाले बताए।

‘शिविरबाट स्त्रीरोग सम्बन्धि सेवा उपलब्ध गराउने उदेश्य भए पनि हाडजोर्नी तथा नशा सम्बन्धि सेवा लगायत अन्य सेवा दिइएको थियोे,’ उनले भने।

उनका अनुसार दुई दिने शिविरमा ३०४ जनासको स्वास्थ्य परिक्षण गरिएको थियोे भने ९ जना महिलाको पाठेघरमा रिङ राखिएको थियोे। त्यस्तै तीन जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ।

शिविरबाट २१ जनाले हाडजोर्नी तथा नशा सम्बन्धि सेवा प्राप्त गरेका थिए भने ११५ जनाले अन्य सेवा लिएका थिए।

स्त्रीरोग सम्बन्धि सेवा लिन आएका १६८ जना महिलामा ९० जनाको भिआईए समेत परिक्षण गरिएको तिला खोप फोकल पर्सन देवकोटाले कनका खबरलाई जानकारी दिए।

शिविरबाट दुर्गम भेगका महिलाहरुले घर आगनमै स्वास्थ्य सेवा पाइरहेको हुनाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने उपाध्यक्ष बुढाले बताइन्।

प्रकाशित मितिः   २०८१ जेष्ठ ६ at 10:08 am 

  • कमेन्ट (Comment)