हियाखोलाको लिफ्ट सिँचाइ आयोजना पुन: संचालनमा

तातोपानी गाउँपालिका-६ स्थित हियाखोला लिफ्ट सिँचाई आयोजनाले अन्ततः पुनः जीवन पाएको छ। २०७९ सालको असोजमा आएको विनाशकारी बाढीले क्षति पुर्‍याएर निष्क्रिय बनेको यो आयोजना अब फेरि संचालनमा आएको छ। तीन वर्ष अघिदेखि योजना बनाइएको यो आयोजना संघीय सरकारको ८८ लाखभन्दा बढी लगानीमा निर्माण गरिएको थियो । तर निर्माण सम्पन्न भई सञ्चालनमा आएको केही समयमै बाढीले पम्पमा सेडिमेन्ट जम्मा भई सिँचाई अवरुद्ध भएको थियो ।

लामो समयसम्म सिँचाई सुविधा नपाएर बाँझो बस्नुपरेको हियाखोला गाउँलेहरूको अनुहारमा अब भने आशाको मुस्कान छाएको छ। पानीको अभावले चिरा परेको धानखेतहरूमा फेरि हरियाली फर्काउने सम्भावना जागेको छ। तिलाबाट झण्डै दुई किलोमिटर उचाइमा अवस्थित हियाखोलासम्म पानी पुर्याउन निर्माण गरिएको लिफ्ट सिँचाई आयोजनाले अहिले २४ सै घण्टा संचालन हुनेगरी पानी प्रवाह गर्न थालेको छ। दिउँसो सौर्य ऊर्जाबाट र राति विद्युतमार्फत सञ्चालित यो प्रणाली गाउँपालिकाको विशेष प्राथमिकतामा मर्मत गरी पुनःसञ्चालनमा ल्याइएको हो l

तातोपानी गाउँपालिकाका इञ्जिनियर डिल्ली बुढाका अनुसार, आयोजनाबाट हियाखोला गाउँको करिब १४.४ हेक्टर धानखेतीयोग्य जमिन र १६.६२ हेक्टर स्याउखेतीयोग्य जमिनमा सिँचाई सुविधा पुग्नेछ। तिला नदीदेखि आर.भी.टीसम्मको उचाइ हेड २५० मिटर छ। उक्त दूरीमा १७९५ मिटर जीआई पाइप र २५० मिटर एचडीपिई पाइप गरी कूल २०४५ मिटर लामो पाइपलाइन बिछ्याइएको छ। ‘जसमा २० एचपीको पम्प प्रयोग गरिएको छ,’ बुढा भन्छन्, ‘अब हियाखोला गाउँले सिँचाईको अभाव झेल्नुपर्ने छैन।’

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईं आयोजनाप्रति निकै सकारात्मक देखिन्छन्। उनका अनुसार, केही समय सोलारबाट संचालन भएको यो आयोजना छिट्टै विद्युतमार्फत निरन्तर सञ्चालनको तयारीमा छ। ‘हाम्रो उर्वर भुमि सिँचाई बिना बाँझो रहनु दुखद पक्ष हो,’ उनले भने, ‘भौगोलिक रुपमा विकट बस्तीहरुमा पानीको अभाव समाधान गर्न लिफ्ट सिँचाईभन्दा विकल्प छैन। यसको दिगो व्यवस्थापनमा स्थानीय र पालिका दुवैले ध्यान दिनुपर्छ।’

हियाखोला लिफ्ट सिँचाई आयोजनाका लागि २०७९ सालमा संघीय सरकारबाट सशर्त अनुदान स्वरूप चालुतर्फ एक करोड रुपैयाँ विनियोजन गरिएको थियो। तातोपानी गाउँपालिकाका लेखापाल शिवराज न्यौपानेका अनुसार, आयोजनाको काम सम्पन्न भएपछि २०७९ असार २५ गते ८८ लाख ३३ हजार ७४० रुपैयाँ भुक्तानी गरिएको थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतका अनुसार सिँचाई अभावकै कारण उर्वर भूमिहरु बाँझो रहँदा हियाखोलाका किसान निराश थिए। बाढीले निर्माण सम्पन्न भएको आयोजनालाई भत्काएपछि उनीहरू थप हतोत्साहित बनेका थिए। तर, गाउँपालिकाले देखाएको सक्रियता र प्राथमिकताले किसानहरूमा फेरि आत्मविश्वास फर्किएको छ । वर्षौंदेखि सिँचाईको पर्खाइमा बसेका किसानहरू अब उत्पादनमा केन्द्रित हुन सक्ने अवस्थामा पुगेका छन्। यसले गाउँमा आर्थिक गतिविधि समेत बढाउने अपेक्षा गरिएको छ यसको दिगो पनाका लागि गाउँपालिका लागि रहने प्रमुख प्रशासकीय अधिकृत कठायतले जानकारी दिए ।

तातोपानी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मिलन बुढाथापाका अनुसार, आयोजनाको योजना तीन वर्ष अघि बनाइएको थियो। ‘हियाखोला भौगोलिक रूपमा उचाइमा पर्ने ठाउँ हो। त्यहाँ पानी पुर्‍याउन लिफ्ट सिँचाई नै एक मात्र उपाय थियो,’ उनी सम्झिन्छन्, ‘त्यसैले योजना बनाइयो। संघीय सरकारको सहयोग र गाउँपालिकाको कार्यान्वयनमा यो सम्भव बन्यो।’

यसरी, बाढीले क्षति पुर्याएको, चुपचाप रहन बाध्य बनाएको एक आयोजनाले फेरि आवाज पाएको छ। सिँचाईको पानीसँगै खेतीपातीको आशा पनि फर्किएको छ। हियाखोलाका किसानहरू अब बाँझो माटोलाई हरियालीमा रूपान्तरण गर्न उत्साहित छन्। यो केवल सिँचाई आयोजनाको पुनर्सञ्चालन होइन, समृद्धिको सम्भावनामा फेरि एकचोटि विश्वास जगाउने प्रयास हो। पानीसँगै हियाखोला गाउँमा जीवनको प्रवाह सुरु भएको छ ।

प्रकाशित मितिः   २०८२ साउन १९ at 4:53 pm 

  • कमेन्ट (Comment)