जुम्लामा चोरी भएको मोटरसाइकलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
चन्दननाथ नगरपालिका–६ विजयनगरस्थितबाट भे.१ प ९१६८ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा निवेदन परेको थियो। मोटरसाइकल चोरी भएको सूचना पाएपछि प्रहरीले खोजी तथा अनुसन्धानलाई तीव्र बनाएको थियो।
खोजीका क्रममा प्रहरी चौकी नाग्मा रारालिहीबाट खटिएको प्रहरी टोलीले तिला गाउँपालिका–१ कठिना खोलाको किनारमा मोटरसाइकलसहित एक जनालाई फेला पारेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा तिला गाउँपालिका–७ का २५ वर्षीय वीरसिंह विक रहेका छन्। उनलाई चोरी भएको मोटरसाइकलसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका विकलाई सम्मानित जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
चोरी भएको मोटरसाइकलसहित जुम्लामा एक युवक पक्राउ











कनका खबर । २०८३ भाद्र १०