जुम्लामा सडकमा खेलिरहेका बालकलाई मोटरसाइकलले ठक्कर, आफन्तको खोजीमा प्रहरी

जुम्लामा बेवारिसे अवस्थामा भेटिएका एक बालकलाई मोटरसाइकलले ठक्कर दिएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भर्ना गरिएको छ। बालकको आफन्त हालसम्म सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले पहिचान तथा परिवारको खोजी थालेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार २०८३ भदौ २८ गते अपराह्न करिब ३ः३० बजे चन्दननाथ नगरपालिका–६ स्थित अटो पार्क नजिक जुम्ला–नाग्मा सडकखण्डमा बाटोमा खेलिरहेका नाम, थर र ठेगाना नखुलेका करिब ७ वर्षका बालकलाई मोटरसाइकलले ठक्कर दिएको हो।
प्रहरीका अनुसार तातोपानी गाउँपालिका–५ ऐरीनी बस्ने ४३ वर्षीय टक्कबहादुर नेपाली (सार्की) ले चलाएको मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो। दुर्घटनामा बालकको टाउकोमा चोट लागेको र उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते बालकलाई तत्काल उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। बालकको मानसिक अवस्था असामान्यजस्तो देखिएको र आफ्नो परिचय तथा आफन्तबारे स्पष्ट जानकारी दिन नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल चालक पनि प्रहरीको सम्पर्कमा छन्। तर बालकका अभिभावक वा आफन्तजन भने हालसम्म फेला परेका छैनन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाले तस्बिरमा देखिएका बालकलाई चिन्ने व्यक्ति, उनका अभिभावक वा आफन्तजनलाई तत्काल प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रकाशित मितिः   २०८३ भाद्र २८ at 5:53 pm 

  • कमेन्ट (Comment)