तिला–१ का ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबर सिरक वितरण

जुम्ला । हिमाली जिल्लामा चिसो बढेसँगै जनजीवन प्रभावित बन्दै गएको बेला तिला गाउँपालिका–१ ले वडाभित्रका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो फाइबर सिरक वितरण गरेको छ ।
हिउँदे याममा अत्यधिक चिसोले सबैभन्दा बढी जोखिममा पर्ने वर्गलाई लक्षित गर्दै स्थानीय सरकारले राहत कार्यक्रम अघि सारेको हो । तिला गाउँपालिका–१ का वडा सचिव मिमकोशा रोकायाका अनुसार जाडोको प्रभाव बढे पछि वडाले अग्रसरता लिँदै ज्येष्ठ नागरिकका लागि न्यानो कपडा अन्तर्गत फाइबर सिरक वितरण गरेको हो ।
चिसोले ज्येष्ठ नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले वडाले यो कार्यक्रम ल्याएको उनकाे भनाइ छ । चालू आर्थिक वर्ष २०८२/८३ मा वडाले यस कार्यक्रमका लागि २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियाे ।
वडा सचिव रोकायाका अनुसार वडा भित्रका करिब १ सय ३४ जना ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरिएको छ । ६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सिरक वितरण गरिएको तिला गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष हस्तवीर दमाईले जानकारी दिए ।
दिनदिनै चिसो बढ्दै गएकोले सबैभन्दा संवेदनशील वर्गलाई राहत दिनु आवश्यक ठानेका छौं उनले भने । सिरक पाए पछि ज्येष्ठ नागरिकहरू खुसी देखिएका छन् । स्थानीय ज्येष्ठ नागरिक आँसे बुढाले जाडोको समयमा न्यानो सिरकले ठूलो राहत पुगेको बताए ।
यो चिसोमा यस्तो सहयोग पाउनु भनेको जीवन सहज हुनु रहेकाे बताए । कार्यक्रमका क्रममा वडाले ज्येष्ठ नागरिकका चासो, गुनासो, समस्या र इच्छाहरू समेत सुनेको छ । यस प्रति ज्येष्ठ नागरिकहरूले स्थानीय सरकार प्रति धन्यवाद र खुसी व्यक्त गरेका छन् ।
सिरक वितरण कार्यक्रममा तिला गाउँपालिकाका कार्यवाहक अध्यक्ष आसे बस्नेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश विश्वकर्मा, उपाध्यक्ष गाेरीकला बुढा लगायत स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । स्थानीय सरकारको यो पहलले जाडोमा नागरिकलाई न्यानो मात्र होइन, अपनत्वको अनुभूति पनि दिएको छ ।

प्रकाशित मितिः   २०८२ पुष २२ at 4:03 pm 

  • कमेन्ट (Comment)