
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेट निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार कनकासुन्दरी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। कनकासुन्दरी गाउँपालिकाको समुन्नतिको आधार : शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारभन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा गाउँपालिकाको समग्र विकासका लागि आवश्यक नीति, योजना तथा कार्यक्रमबारे व्यापक छलफल गरिएको थियो ।
कनकासुन्दरी गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आचार्य, उपाध्यक्ष प्रेमकली बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्र खत्री लगायत गाउँपालिकाका सबै वडाका वडा अध्यक्ष, शाखा प्रमुख, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि,स्थानीय अगुवा, बुद्धिजीवी, पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण तथा सञ्चालन गाउँपालिकाका रोजगार शाखा प्रमुख हंसराज न्यौपाने ले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, सिंचाइ, रोजगार, पर्यटन तथा पूर्वाधार विकासका विषयमा आफ्ना सुझाव तथा धारणा प्रस्तुत गरेका थिए ।
सहभागीहरूले गाउँपालिकाको दिगो विकासका लागि स्थानीय आवश्यकता र जनचाहनामा आधारित योजना तथा बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा विस्तार, युवा स्वरोजगार, महिला तथा बालबालिकाको सशक्तीकरण, पर्यटन प्रवर्द्धन तथा भौतिक पूर्वाधार विकासलाई आगामी बजेट तथा कार्यक्रममा प्राथमिकता दिन सुझाव दिइएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष आचार्यले स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा नागरिकबाट प्राप्त सुझावलाई आगामी नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समावेश गरिने बताउनुभयो। उहाँले गाउँपालिकाको समग्र समृद्धि र विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रमले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई थप प्रभावकारी, जनमुखी तथा आवश्यकतामा आधारित बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। सहभागीहरूले प्रस्तुत गरेका सुझावले गाउँपालिकाको विकासलाई थप व्यवस्थित, दिगो र परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।











कनका खबर । २०८३ असार ६