कर्णालीमा माओवादी मन्त्री राजिनामा दिने तयारीमा

तस्बिर : सामाजिक संजाल

कर्णालीमा माओवादीका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन्। केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेपछि कर्णालीमा माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिने तयारी गरेका हुन।

केन्द्रमा राजनीतिक फेरबदलको असरले कर्णालीमा माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेका छन्। तर, संसदीय दलको बैठक नबस्दा मन्त्रीहरू अन्यौलमा परेको बताइएको छ।

माओवादी केन्द्र संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री राजकुमार शर्मा काठमाडौंमा रहेकाले मन्त्रीहरूको राजीनामा अन्यौलमा परेको हो।

शर्मासँगै मुख्यमन्त्री यामलाल कँडेल पनि काठमाडौंमै रहेकाले सरकारबाट बाहिरिने विषयमा निर्णय लिन ढिलाइ भइरहेको माओवादीबाट जलस्रोत तथा ऊर्जा विकासमन्त्री रहेका रनसिंह परियारले शिलापत्रलाई बताए।

आज वा भोलिसम्ममा सरकारबाट बाहिरिने तयारी रहेको भए पनि मुख्यमन्त्री कँडेल काठमाडौं रहेकाले ढिलाइ भएको उल्लेख गर्दै मन्त्री परियारले माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीले राजीनामा पत्र बोकेर हिँडेको बताए।

यता नयाँ सत्ता साझेदारी गर्न लागेका कांग्रेस र एमालेबीच पनि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छैन। केन्द्र सरकारले पूर्णता पाएपछि कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने गरी कांग्रेस र एमालेले तयारी गरिरहेका छन्।

नयाँ समीकरणले कर्णालीमा माओवादीले ६ वर्षपछि पहिलोपटक सबै राजकीय पद गुमाउँदैछ।

प्रकाशित मितिः   २०८१ असार ३० at 12:18 pm 

  • कमेन्ट (Comment)