चाडपर्व नजिकिँदै गर्दा चन्दननाथ नगरपालिकाद्वारा बजार अनुगमन, अखाद्य वस्तु फेला

चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताहरूलाई सुरक्षित, गुणस्तरीय तथा स्वच्छ खाद्य वस्तु सुनिश्चित गर्ने उद्देश्यसहित चन्दननाथ नगरपालिकाले बजार अनुगमन गरेको छ। नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको आयोजनामा साउन २१ गते अनुगमन कार्यक्रम सञ्चालन गरिएको हो।

अनुगमन टोलीको नेतृत्व चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले गरेका थिए। कार्यवाहक नगरप्रमुख तथा वडा नं. १ का वडाध्यक्ष तिलकप्रसाद न्यौपाने, जिल्ला प्रशासन कार्यालयका अधिकृत मिनबहादुर रावल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाका प्रमुख प्रछा न्यौपाने, उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटा, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगी, अन्य सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरू अनुगमन टोलीमा सहभागी थिए।

अनुगमनका क्रममा जुम्ला बजारका विभिन्न १२ वटा खाद्यान्न पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा थुप्रै पसलहरूमा म्याद गुज्रेका तथा अखाद्य सामग्रीहरू बिक्री वितरण भइरहेको पाइएको छ। उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने यस्ता वस्तुको विक्रीले चाडपर्वको सन्दर्भमा बजारमा सावधानी आवश्यक रहेको देखाएको छ।

बजार अनुगमनका क्रममा पसलमा देखिएका कमीकमजोरीहरू सुधार गर्न व्यापारीहरूलाई मौखिक रूपमा चेतावनी दिइएको छ भने आवश्यक परेमा कारबाही प्रक्रिया अघि बढाइने सम्बन्धित निकायले जानकारी दिएको छ। साथै, खाद्यान्नको म्याद, मूल्य सूची, स्वच्छता र सुरक्षित भण्डारण सम्बन्धी विषयहरूमा व्यापारीहरूलाई सचेत गराइएको थियो।

अनुगमन पश्चात उपभोक्ता हित संरक्षण समितिका संयोजक टेकबहादुर बुढथापाले चाडपर्व नजिकिँदै गर्दा नागरिकको स्वास्थ्यसँग जोडिएका विषयमा कुनै पनि लापरवाही सह्य नहुने बताए। उनले नियमित अनुगमनमार्फत उपभोक्ताको हक र सुरक्षालाई सुनिश्चित गरिने प्रतिबद्धता जनाए।

यस किसिमको बजार अनुगमनले उपभोक्ता सचेतना बढाउने र व्यापारीहरूलाई पनि जिम्मेवार बनाउन सघाउ पुग्ने विश्वास लिइएको छ। चन्दननाथ नगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी ढंगले बजार अनुगमन जारी राख्ने जनाएको छ।

प्रकाशित मितिः   २०८२ साउन २१ at 10:57 pm 

  • कमेन्ट (Comment)