ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी : अनुसन्धानका क्रममा दुई जना पक्राउ

ताँजाकोट गाउँपालिका–३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

भदौ ७ गते राति करिब १ बजेको समयमा गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो। घटनालगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाले अनुसन्धान टोली परिचालन गरी घटनाको कारण र संलग्न व्यक्तिबारे अनुसन्धान अघि बढाएको थियो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता युवराज ढकालको संयोजकत्वमा गठित छानविन समितिको प्रारम्भिक अनुसन्धानबाट आगलागी घटनामा संलग्नता देखिएपछि ताँजाकोट गाउँपालिका–४ गल्लाबाडाका करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र गाउँपालिकाको पूर्वस्वास्थ्य शाखामा कार्यरत करिब ४५ वर्षीय धनराज ढकाललाई पक्राउ गरिएको प्रवक्ता ढकालले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई हुम्ला जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले दुवै जनालाई थप अनुसन्धानका लागि सात दिनको म्याद दिएको छ।

आगलागीबाट गाउँपालिकाको जिन्सी शाखामा राखिएका चार वटा काठका र्‍याक, एउटा सुत्ने खाट, एउटा टेबल र सोलारको एउटा ब्याट्रीमा क्षति पुगेको छ। त्यस्तै, आर्थिक वर्ष २०७३/०७४ देखि हालसम्मका विभिन्न महत्वपूर्ण कागजातसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको वास्तविक कारण र पक्राउ परेका व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धान पूरा भएपछि आगलागीको प्रकृति, क्षतिको विस्तृत विवरण तथा घटनामा संलग्नतासम्बन्धी थप तथ्य सार्वजनिक हुने बताइएको छ।

प्रकाशित मितिः   २०८३ भाद्र २२ at 9:14 pm 

  • कमेन्ट (Comment)