डा. केसीको स्वास्थ्य जटिल बन्दै, आईसीयूमा उपचार गर्न चिकित्सकको सुझाव

२४औं सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाको २११ नं. कोठामा अनसनरत केसीको शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले परीक्षण गरेका थिए ।
परीक्षणका क्रममा डा. केसीको रक्तचाप ११०/९० र रक्तमा सुगरको मात्रा ५० रहेको पाइएको छ । सुगरको मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकले बताएका छन् ।

चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका छन् । तर डा. केसीले उक्त सुझावबारे आफू विचार गर्ने प्रतिक्रिया दिएका छन् ।

डा. केसी बिहीबारदेखि विभिन्न पाँच बुँदे माग राख्दै धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा २४औं सत्याग्रहमा बसेका छन् । डाक्टर केसीका सहयोगी अमृत जैशीकाअनुसार स्वास्थ्य अवस्था बिग्रिदै गएपछि मांसपेशी बाउडिने, बोल्न पनि असहज हुने, खुट्टाको अप्रेसन गरेका कारण हिँडडुल गर्न पनि कठिन भएपछि बाथरुम जान पनि समस्या भइरहेको छ ।

केसीले उठाएका माग सम्बोधन गर्न सरकार तयार रहेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताइसकेका छन् । शुुक्रबार साँझ डा. केसीका सहयोगी जैशीसँग कुरा गरेका मन्त्री पोखरेलले राति ११ बजेतिर स्वयंम केसीसँगै फोन संवाद गरेका थिए ।

प्रकाशित मितिः   २०८३ साउन ९ at 9:42 am 

  • कमेन्ट (Comment)