प्रधानमन्त्री शाहद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले शुक्रबार साँझ ५ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।
विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि सिफारिस गर्न यो बैठक बोलाइएको हो । हाल निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग र मुस्लिम आयोग लगायतका केही आयोगहरूमा अध्यक्ष तथा सदस्य पद रिक्त रहेका छन् ।
संवैधानिक परिषद्‍मा प्रधानमन्त्री शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुविकुमारी ठाकुर, प्रधानन्यायाधीश मनोजकुमार शर्मा र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्दम्बे सदस्य हुनुहुन्छ ।

प्रकाशित मितिः   २०८३ असार १९ at 3:14 pm 

  • कमेन्ट (Comment)