संसदमा भएको घटनाप्रति नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले विज्ञप्ति निकाल्दै विरोध जनाएको छ। सरकारको निर्माण गर्ने, कानून बनाउने, संसदीय अनुगमन गर्ने, बजेट पारित गर्ने, संसदीय सुनुवाई गर्ने साथै आवश्यकता अनुसार संसदीय समिति गठन गरी राष्ट्रिय स्तरमा उब्जिएका प्रश्नको समेत उत्तर खोज्ने संसद मूल अभिभारा भएको नेपाल विद्यार्थी संघको ठहर छ।
बिहीबार संसद्मा सत्तारूढ दल र सभामुखकै कारण संसद्को गरिमामाथि प्रश्न उठ्न पुगेकाले नेपाल विद्यार्थी संघका केन्द्रीय प्रवक्ता सुरज सेजुवालले बताए छन्। उनले भने, ‘संसद्मा सत्तारूढ दलबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध जारी रहँदा भएको असंसदीय कार्यप्रति नेपाल विद्यार्थी संघका गम्भीर ध्यानाकर्षण भएको छ।’
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहनुभएका काँग्रेस उपसभापति माननीय धनराज गुरुङले संसद्भित्र नारा लगाइरहेका बेला एमाले सांसद केपी ओलीबाट भएको अस्वभाविक व्यवहार निन्दनीय छ। संसद्मा रुलिङ सभामुखले गर्ने हो, सत्तारूढ दलले होइन भन्ने सामान्य मर्यादा नभुल्न पनि नेपाल विद्यार्थी संघ सत्तारूढ दललाई चेतावनी दिन चाहन्छ।’
संसद्मा प्रतिपक्षी दलको विरोध जारी रहँदा जबर्जस्ती संसद् अघि बढाउने सभामुखको पक्षपाती व्यवहारका कारण संसद्मा अस्वभाविक अवस्था सिर्जना भएको नेपाल विद्यार्थी संघले ठहर गरेको छ।
‘सभामुखलाई संसदीय मर्यादा कायम गर्न ध्यानाकर्षण गराउँदछौँ। साथै काँग्रेसले उठाइरहेको सहकारी ठगी र गिरीबन्धु टी स्टेटसँग जोडिएको जग्गा प्रकरणको विषयमा अनुसन्धान प्रभावित गर्ने र सत्ताको बलमा दोषी उम्काउने खेल नरोकिए नेपाल विद्यार्थी संघ सशक्त प्रतिवादमा उत्रन बाध्य हुने समेत यसै प्रेस विज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छ,’ प्रवक्ता सेजुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
कनका खबर । २०८१ जेष्ठ ४