जुम्लामा दुईजना युवा लागु औषध सहित पक्राउ 

जुम्लाको चन्दननाथ नगरपालिका-४, भारतिवाडामा प्रहरीले लागु औषधसहित दुई युवालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालका अनुसार, गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १९ वर्षीय समुन्द्र गिरी र प्रशान्त थापालाई नियन्त्रणमा लिएको हो।

हमालले भने; समुन्द्र गिरीको घरमा विशेष निगरानीका क्रममा दोस्रो तलाको कोठामा छापा मारिएको थियो। खानतलासी गर्दा गिरीले निलो प्लास्टिकमा लुकाएर राखेको ब्राउन सुगरजस्तो देखिने लागु औषध झ्यालबाट फाल्ने प्रयास गरेका थिए।

प्रहरीले उक्त पदार्थ बरामद गरी जाँच गर्दा २३० मिलिग्राम शुद्ध लागु औषध फेला परेको पुष्टि भएको छ। पक्राउ परेका दुवै युवालाई तत्काल पक्राउ पुर्जी जारी गरी हिरासतमा राखिएको छ। प्रहरीले लागु औषधको स्रोत र सम्भावित अवैध सञ्जालबारे गहिरो अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मितिः   २०८२ जेष्ठ २१ at 8:47 pm 

  • कमेन्ट (Comment)