जुम्लाको पातारासी गाउँपालिकामा प्रशासकीय भवन सिलान्यास

जुम्लाको पातारासी गाउँपालिकामा नयाँ प्रशासकीय भवनको विशेष समारोहकाबीच सिलान्यास गरिएको छ।

सोमबार पालिकाको केन्द्र लासीमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले भवनको आधारशिला राखेर निर्माण कार्यको औपचारिक शुभारम्भ गरेका हुन।

उनका अनुसार ६ करोड ७५ लाखको लागतमा बन्ने सो प्रशासकीय भवन विके जेएनएस जे भी जुम्लाले निर्माण गर्नेछ। दुई वर्षभित्र सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको यस भवनमा २७ कोठा रहनेछन्।

पालिकाका विभिन्न सेवा, सुविधा एकै स्थानबाट सहज रूपमा उपलब्ध गराउने उद्देश्यले प्रशासकीय भवन निर्माण गर्न लागिएको अध्यक्ष बोहराको भनाइ छ।

कार्यक्रमका क्रममा वर्षमा एक पटक मात्र फेरिने राष्ट्रिय झण्डा परिवर्तनसँगै पूजापाठ पनि गरिएको थियो।

स्थानीय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा विकास र समृद्धितर्फ पालिका अघि बढिरहेको सन्देश प्रस्ट भएको जनाइएको छ।

पालिकाको दीर्घकालीन आवश्यकता भएकाले यसलाई गुणस्तरीय र समयमा सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको अध्यक्ष बोहराको भनाइ छ।

उनले भने, “यो भवन हाम्रो पालिकाको पहिचान मात्र होइन, सेवाग्राहीलाई सजिलो हुने केन्द्र पनि हो। समयमै सम्पन्न गरी पालिकावासीले छिटोछरितो सेवा पाउने वातावरण हामी बनाउनेछौं।”

यससँगै पातारासी गाउँपालिकाले समग्र विकास र प्रशासनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा लिएको छ।

प्रकाशित मितिः   २०८२ असोज ६ at 8:25 pm 

  • कमेन्ट (Comment)