अन्तरजातीय प्रेम विवाह गरेका सर्लाहीका नवविवाहित जोडीलाई अलग गराउन र दलित युवा (दुलाहा) माथि अत्याचार गरेको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै जुम्लामा दलित अधिकारकर्मीहरुले राँके जुलुस प्रर्दशन गरेका छन्।
उक्त आरोप उपर आज संसदमा लेखकले दिएको अभिव्यक्ति चित्त नबुझेको र सरकारले छानविन गर्न ढिलाई गरेकाले राँके जुलुस प्रर्दशन गरेको जुम्लाका दलित अधिकारकर्मीहरुले बताएका छन् ।
संसदमा लेखले राज्यको नीतिलाई आत्मसात गर्दै आएको र गरिरहने बताएका थिए। विगतमा स्वयं आफु विभेद विरुद्धको आन्दोलनमा संलग्न रहेको र हाल आफुलाई आरोप लगाईएको उनले बताएका थिए।
उनको सोहि अभिव्यक्ति झुटो र बच्ने उपाय मात्र भएकाले सरकारले यथाशीघ्र छानबिन गरि कार्वाही गर्नु पर्ने अधिकारकर्मीहरुको भनाई छ।
तत्काल सरकारले लेखकलाई छानबिन गरि कार्वाही नगरे यो भन्दा कठोर आन्दोलन गर्ने अधिकारकर्मीहरुले चेतावनी दिएका छन्। जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडी गृहमन्त्री लेखकलाई कार्वाही हुनु पर्ने र लेखकले राजीनामा दिनु पर्ने जस्ता नारा लगाईएको हो ।
विश्व प्रकाश । २०८१ माघ २४