जुम्लाको खलंगामा जडित ‘फायर हाइड्रेन्ट’ औपचारिक उद्घाटन

जुम्लामा आगलागीजन्य जोखिम न्यूनीकरण गर्न चन्दननाथ नगरपालिकाले जुम्लामै पहिलो पटक ‘फायर हाइड्रेन्ट’ जडान गरेको हो।

यो कार्य नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वय, स्वीस रेडक्रसको आर्थिक सहयोग तथा चन्दननाथ नगरपालिकाको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाले सञ्चालित “शहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजना” अन्तर्गत गरिएको हो।

यसले आपत्कालीन समयमा तत्काल पानी आपूर्ति गरी आगलागी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको चन्दननाथ नगरपालिका -५ का वडा अध्यक्ष विर्ष कार्कीले बताए।

वडाले १० लाख रुपैयाँको लगानीसहित यो कार्य अघि बढाएको चन्दननाथ -५ का वडाअध्यक्ष कार्कीले थपे। उनले भने, “ हाइड्रेन्ट जडानका लागि समुदायको माग, स्थानको जोखिम मूल्याङ्कन र आवश्यकताको विश्लेषण गरियो। अब आगलागी भएमा हामीसँग प्रत्यक्ष पूर्वतयारी हुनेछ।”

परियोजना सानो स्तरको अल्पीकरण गतिविधिअन्तर्गत चन्दननाथ नगरपालिका–५ स्थित कालेखोली चोक, जिपी स्टेसनरीलगायत ६ स्थानमा हाइड्रेन्ट जडान गरिएको कार्कीले जानकारी दिएका छन्।

नगरपालिकाका साँघुरा सडक र दमकल सहजै नपुग्ने स्थानमा हाइड्रेन्ट जडान गरिएको नेपाल रेडक्रस सोसाइटी जुम्लाकी परियोजना अधिकृत ईश्वरा सुवेदीले बताइन्। उनले भनिन्, “चन्दननाथमा पछिल्लो समय आगलागीको जोखिम बढिरहेको छ। यस्तो अवस्थामा आगो निभाउन तत्काल पानीको पहुँच अत्यावश्यक हुन्छ, जसका लागि यो हाइड्रेन्ट प्रणाली प्रभावकारी हुनेछ।”

उनका अनुसार यो कार्यका लागि कुल १३ लाख ३७ हजार ४ सय ६८ रुपैयाँ खर्च भएको हो। रेडक्रस सुपर परियोजनाबाट ३ लाख ९५ हजार १ सय ६१ रुपैयाँ र वडा नम्बर ५ कार्यालयबाट ९ लाख ४२ हजार ३ सय ७ रुपैयाँ लागत साझेदारी गरिएको छ।

खलंगा खानेपानी उपभोक्ता समितिका अध्यक्ष पन्न बहादुर रोकायाले फायर हाइड्रेन्ट जडानलाई समयानुकूल र आवश्यक पहल भन्दै भने, “खानेपानीको व्यवस्थापनसँगै आपतकालीन अवस्थामा पानीको आपूर्ति सहज हुनु हाम्रो प्राथमिकता हो। हाइड्रेन्टले त्यो आवश्यकता पूर्ति गर्नेछ। अब हरेक घरको सुरक्षा प्रणालीमा यो सेवा जोडिने आधार तयार भएको छ।”

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापाका अनुसार, चन्दननाथ नगरपालिका पछिल्ला वर्षमा शहरी जोखिम न्यूनीकरणमा सक्रिय भएको छ।

उनले भने, “विकासको गति तीव्र भैरहँदा सुरक्षा पूर्वाधार पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ। फायर हाइड्रेन्ट जडान कार्यक्रम नगरको दीर्घकालीन सुरक्षा रणनीतिसँग जोडिएको छ।”

यस्ता कार्यक्रम स्थानीय तह, नागरिक समाज र संघीय सरकारबीचको सहकार्यको उदाहरण भएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताए। उनले भने, “जिल्लामा अन्य नगरपालिका वा गाउँपालिकाहरूले पनि यस्तो नमुना पछ्याउने विश्वास लिएको छु।”

दुर्घटना कहिले र कहाँ हुन्छ भन्न सकिन्न तर तयारीपूर्वक बस्ने हो भने क्षति न्यूनीकरण गर्न सकिने प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए। उनले भन, “फायर हाइड्रेन्टको व्यवस्था गर्दा प्रशासनिक तहबाट पनि आवश्यक समन्वय र सहयोग गर्न हामी तयार छौँ।”

नगरभित्र दमकल सहजै पुग्न नसक्ने साँघुरा क्षेत्रहरूमा फायर हाइड्रेन्टको व्यवस्था हुनु जुम्ला जस्तो पहाडी जिल्लाका लागि निकै उपलब्धिमूलक हुने प्रमुख प्रशासकीय अधिकृत बुढथापाले थपे।

उनले भने, “यसले आपत्कालीन अवस्थामा नगरको चाँडो प्रतिक्रिया क्षमता बढाउनेछ। साथै स्थानीय बासिन्दामा सुरक्षित बसोबासको भावना पनि बलियो बनाउनेछ।”

प्रकाशित मितिः   २०८२ असार ३१ at 9:51 am 

  • कमेन्ट (Comment)