गिडिदह जाने बाटो फुल्च्याउलेमा पर्यटकका लागि सुविधा सम्पन्न होमस्टे निर्माण 

जुम्लाको पर्यटकीय स्थल तातोपानी गाउँपालिका ४ स्थित गिडिदहलाई थप पर्यटक प्रवर्द्धन गर्न पर्यटनमैत्री धर्मशाला (होमस्टे) को निर्माण कार्य सम्पन्न भएको छ।

आर्थिक वर्ष २०८१/०८२ मा कर्णाली प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत डिभिजन वन कार्यालय जुम्लालाई प्राप्त रु. १५ लाखको बजेटबाट “गिडिदह पर्यटन प्रवर्द्धन फूलचौल्या पूर्वाधार निर्माण योजना”अन्तर्गत फूलचौल्या पाटनमा निर्मित प्रवेशद्वार र धर्मशालाको निर्माण कार्य सम्पन्न भएको हो।

निर्माण कार्यको अनुगमनका लागि डिभिजन वन कार्यालय, जुम्लाका डिभिजन वन अधिकृत भरत बुढ्थापा सहित तातोपानी गाउँपालिका–४ को संयुक्त अनुगमन टोलीले २०८२ जेठ १६ र १७ गते अनुगमन गरेको छ।

अनुगमनका क्रममा निर्माण कार्य गुणस्तरीय र तोकिएको मापदण्डअनुसार भएको पाइएको जुम्लाका डिभिजन वन अधिकृत भरत बुढ्थापाले बताए।

तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमर बहादुर रोकायाले यो योजनाले गिडिदहको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले भने, “यो धर्मशाला र प्रवेशद्वारले गिडिदहलाई पर्यटकीय गन्तव्यको रूपमा थप आकर्षक बनाउनेछ। यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउन यो कोसेढुङ्गा सावित हुनेछ।”

वडाध्यक्ष रोकायाले निर्माण कार्यमा संलग्न गिडिदह पर्यटकीय क्षेत्र प्रवर्द्धन उपभोक्ता समिति, दक्ष–अदक्ष युवा कामदार, योजना प्रस्ताव गर्ने तातोपानी गाउँ कार्यपालिका, बजेट विनियोजन गर्ने कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कार्यान्वयनमा सहयोग गर्ने डिभिजन वन कार्यालय जुम्लालाई धन्यवाद दिए।

“यो धर्मशालाले स्थानीय पर्यटनलाई प्रोत्साहन गर्नुका साथै पर्यटकहरूलाई सुविधासम्पन्न बसाइ र कर्णालीको सांस्कृतिक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ,” उनले थपे।

प्रकाशित मितिः   २०८२ जेष्ठ १७ at 8:14 pm 

  • कमेन्ट (Comment)