यार्सागुम्बा टिप्न डोल्पा गएका जुम्लाका चार युवा अलपत्र

डोल्पा जिल्लाका पाटनहरुमा यार्सा संकलनका लागि गएका जुम्लाका चार जना युवाहरु अलपत्र परेका छन्। जिल्लाको पातारासी गाउँपालिका -३ का चार जना युवाहरु डोल्पाको साल्दाङ फोतगाउँ पासु क्याम्पमा अलपत्र परेको पातारासी गाउँपालिकाका कार्यवहाक अध्यक्ष दत्तबहादुर बुढाले जानकारी दिए।

उनका अनुसार पातारासी -३ मोहरीगाउँका ओमप्रकाश बुढा र जय बुढा, चौर गाउँका हिरालाल रावत र चन्नलाल रावत अलपत्र परेका हुन्। चार जनामध्ये ओमप्रकाश बुढा लेक लागेर बिरामी छन्। बिरामी परेका ओमप्रकाशको तल्लो शरीर नचलेको उनको भनाइ छ।

‘आफन्तहरुले तत्काल उद्धार गरेर अलपत्र परेकाहरुको ज्यान बचाउन माग गरेका छन्,’ कार्यवहाक अध्यक्ष बुढाले भने, ‘आफन्तहरुले फोन गरेर अलपत्र परेकाहरुको उद्धारको लागि पहल गर्न आग्रह गरेका थिए। त्यहीअनुसार प्रक्रिया अघि बढिरहेको छ।’

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले अलपत्र नागरिकको उद्धार गर्ने बारेमा छलफल भइरहेको बताए। उनका अनुसार प्रदेश सरकार र गृह मन्त्रालयमा हेलिकोप्टरको व्यवस्थाको लागि पत्र पठाइसकिएको छ। प्रदेश सरकारले हेलिकप्टरको खर्च बेहोर्ने वित्तिकै उनीहरुको उद्धार हुनेछ।

प्रकाशित मितिः   २०८१ बैशाख २९ at 10:33 pm 

  • कमेन्ट (Comment)