
जुम्लाको चन्दननाथ नगरपालिका-७ स्थित झुमडामा नेपाल रेडक्रस सोसाइटी सुपर परियोजनाको पहलमा रिचार्जेबल पानी पोखरी निर्माण गरिएको छ। प्राकृतिक, जलवायु परिवर्तन र विपदको दृष्टिकोणले उच्च जोखिममा रहेको सो क्षेत्रमा ‘प्रकृतिमा आधारित समाधान’ अवधारणा अन्तर्गत पोखरी निर्माण गरिएको हो।
उक्त पोखरीले हरियाली प्रवर्द्धन, भूमिगत पानीको पुनर्भरण, तथा खडेरीको समयमा घरपालुवा जनावर, बन्यजन्तु र चराचुरुङ्गीलाई पानी आपूर्तिमा सहयोग पुर्याउने उदेश्यले उक्त पोखरी निर्माण गरिएको हो। साथै, यसले स्थानीय पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न पनि महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
झुमडाको भौगोलिक र वातावरणीय जोखिम मूल्याङ्कन पश्चात् सो क्षेत्रलाई प्राथमिकता दिँदै रिचार्जेबल पोखरी निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी सुपर परियोजनाका सामुदायिक सहजकर्ता करबिर बहादुर चन्दले बताए। पोखरीमा वर्षातको पानी संकलन गरी जमिनमा भण्डारण हुने र खडेरीको समयमा पनि जमिनको चिस्यान कायम राख्न मद्दत गर्ने चन्दको भनाई छ।
रेडक्रसको यो प्रयासप्रति धन्यवाद व्यक्त गर्दै वातावरणीय सुधार र पानी व्यवस्थापनका लागि यसले नयाँ सम्भावना खोल्ने स्थानीयको भनाई छ।यस परियोजनालाई चन्दननाथ नगरपालिका वडा नम्बर ७ को वातावरणीय लचिलोता निर्माणतर्फको एक सकारात्मक प्रयासको रूपमा हेरिएको छ।
नेपाल रेडक्रस सोसाइटी जुम्लाका सदस्य कालि बहादुर महत, सामुदायिक सहजकर्ता करबिर चन्द र वडा नम्बर ७ का सदस्य नेत्र बहादुर खत्री लगायत स्थानिय बासिन्दाले उक्त कार्यको अनुगमन गरेका छन्।











विश्व प्रकाश । २०८२ बैशाख १८