“आमा” शब्द अत्यन्तै प्रिय र गहिरो माया तथा सम्मानले भरिएको शब्द हो, जसलाई बयान गरेर पूर्णतः व्यक्त गर्न कठिन छ। यो शब्दले दुई विशेष अर्थहरू बोकेको हुन्छ: पहिलो, जन्म दिने आमा जसले सन्तानलाई नौ महिना आफ्नो गर्भमा राखेर असिमित पीडा सहेर जन्म दिन्छिन्; दोस्रो, मातृभूमि जसले हामीलाई पालना र संरक्षण गर्दै हाम्रो पहिचान निर्माण गर्दछ।
जन्म दिने आमाले सन्तानलाई जन्म दिनका लागि निकै पीडा र दुःख सहन्छिन्। जन्मपछि पनि आमाको निस्वार्थ प्रेम र त्याग कहिल्यै कम हुँदैन। सन्तानले चोटपटक नलागोस् र स्वस्थ रहोस् भनेर उनी सधैं प्रयत्नरत रहन्छिन्। आफ्नो सम्पूर्ण जीवन सन्तानको भलाइको लागि समर्पण गर्दै, उनी आफ्नो खुशीलाई पछि पारेर सन्तानको सुख र सुरक्षा पहिलो ठान्छिन्।
त्यस्तै, हामी जन्मिएपछि मातृभूमि नै हाम्रो अस्तित्वको आधार बनिरहन्छ। हामी त्यही भूमि, माटो र प्राकृतिक स्रोतहरूबाट पोषित हौं। त्यही भूमि हाम्रो पहिचानको स्रोत बनेको छ। मातृभूमिले हामीलाई भाषा, संस्कार र परम्परा दिएको छ, जसले राष्ट्रियता, प्रेम र अपनत्वको भावना जगाउँछ। मातृभूमिप्रतिको यो प्रेमले मानिसहरूलाई राष्ट्रको सुरक्षाका लागि बलिदान दिनसमेत प्रेरित गर्दछ।
नेपालको इतिहासमा हामीले अमर सिंह थापा, भक्ति थापा र बलभद्र कुँवरजस्ता वीरहरूको गौरवमयी योगदान देख्न सक्छौं। उनीहरूले अत्याधुनिक हतियारसहितको अङ्ग्रेजी फौजको सामना साधारण खुकुरी, ढुङ्गा र मुढाका भरमा गरे, किनकि मातृभूमिप्रतिको प्रेमले उनीहरूलाई यो साहस प्रदान गरेको थियो। उनीहरूले देशप्रतिको इमान्दारिता र समर्पणलाई इतिहासमा अमर बनाए। यसले देखाउँछ कि मातृभूमिका लागि गरिने त्याग र बलिदान कहिल्यै बिर्सन सकिँदैन।
तर दुःखको कुरा, आजका दिनमा कतिपय सन्तानहरू आफ्नी जन्म दिने आमालाई वृद्धावस्थामा हेर्ने समय आउँदा दुर्व्यवहार गरिरहेका छन्। त्यस्तै, पैसाको लोभमा मातृभूमिप्रतिको इमान्दारी त्यागेर केही व्यक्तिहरू देशविरोधी गतिविधिमा संलग्न भइरहेका छन्। यो अवस्थाले गहिरो चिन्ताको विषय बनाएको छ। जन्म दिने आमा र मातृभूमिप्रति सधैं आदर र बफादारी प्रकट गर्नुपर्ने हाम्रो दायित्व हो।
हामीले बुझ्न आवश्यक छ कि आमा, चाहे जन्म दिने हुन् वा मातृभूमि, सधैं सम्मान, प्रेम र विश्वासको हकदार हुन्छिन्। आफ्नो जीवनलाई उनैको सेवा र सम्मानमा समर्पित गर्नु हाम्रो कर्तव्य हो। परिआएको खण्डमा, आमाको माया र मातृभूमिप्रतिको निष्ठाका लागि आफ्नो रगतले पनि मूल्य चुकाउन तयार रहनु नै सच्चा सन्तान र देशभक्त नागरिकको कर्तव्य हो
कविन्द्र महत । २०८१ कार्तिक १२